फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कैलाश–मानसरोवरमा तीर्थालुको चाप बढ्यो

(GMT+08:00) 2017-05-09 16:22:08

यस वर्षको कैलाश–मानसरोवर यात्रा सुरु भएलगत्तै जहाज र होटलमा चाप बढदै गएको छ। नेपालगन्जबाट हुम्ला हुँदै मानसरोवर जाने तीर्थयात्रीले जहाज र होटल बुकिङ धमाधम गर्न थालेका कान्तिपुर अनलाइनले लेखेको छ।

वैशाखको पहिलो सातादेखि असोजसम्म विशेषगरी भारतीय तीर्थयात्रीहरू यस यात्रामा जान्छन्। नेपालगन्ज विमानस्थल हिजोआज तीर्थयात्रीका कारण व्यस्त हुन थालेको छ। नेपालगन्ज विमानस्थल कार्यालयका अनुसार आइतबार मात्रै नेपालगन्ज–सिमकोट 15 उडान भएको छ। यी उडानमा प्राय: भारतीय तीर्थयात्री छन्। त्यसैगरी शुक्रबार 7 र शनिबार 9 उडान भएको विमानस्थलले जनाएको छ। नेपालगन्ज–सिमकोट जहाजमा जाने तीर्थयात्रीहरू तिब्बत सीमा हिल्सासम्म हेलिकप्टर प्रयोग गरी जान्छन्। हिल्साबाट भने चिनियाँ सवारी साधन प्रयोग गरी कैलाश मानसरोबर पुग्न सकिन्छ।

सिजन सुरु भएपछि नेपालगन्जका होटलहरू भारतीय तीर्थयात्रीले भरिन थालेका छन्। आइतबार अढाइ सयभन्दा बढी तीर्थयात्रीहरू जहाज बाट मात्रै सिमकोट पुगेका छन्। नेपालगन्ज र सिमकोटका ठूला होटलहरू धमाधम बुक हुन थालेका छन्। नेपालगन्ज विमानस्थल कार्यालयका अनुसार आइतबार तारा एयरलाइन्सका दुई जहाजले सिमकोटका लागि तीन/तीन उडान भरे भने गोमाका दुई जहाजले 9 उडान गरेका छन्।

'जहाजहरूले चार्टरमार्फत सिमकोट उडान बढाएपछि नेपालगन्ज विमानस्थल व्यस्त बन्दै गएको छ। अझै केही निजी जहाजहरूले चार्टर थप्न खोजिरहेका छन्,' नेपालगन्जस्थित नागरिक उड्डयन कार्यालयका क्षेत्रीय निर्देशक प्रतापबाबु तिवारीले भन्नुभयो, 'उडान बढदै गएपछि विमानस्थल कर्मचारी, एयरलाइन्स कर्मचारी र सुरक्षाकर्मीको व्यस्तता बढदै गएको छ।' उहाँले पर्यटकहरूको सुविधाका लागि सुरुमा दुई उडानका यात्रुलाई विमानस्थलबाट ल्याउने र पछि उडान सुरु भएपछि पालोअनुसार विमानस्थलमा लैजान थालिएको जनाउनुभयो। उहाँका अनुसार यसले यात्रुहरूको भीडभाडलाई नियन्त्रण गर्न सजिलो बनाएको छ। निर्देशक तिवारीका अनुसार गत वर्षसम्म दिनभर उडान हुने जहाजका यात्रुहरूलाई विमानस्थलमा प्रवेश गराउँदा भीडभाडका कारण समस्या हुने गरेको थियो।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी रिद्धिप्रकाश सिटौलाका अनुसार भारतीय तीर्थयात्री आउन थालेपछि सिमकोटका सबैजसो होटलहरू भरिभराउ हुन थालेका छन्। गत वर्ष करिब 19 हजार भारतीय तीर्थयात्रीले कैलाश मानसरोबरको दर्शन गरेका थिए। 'यस वर्ष 31 हजार जनाले बुकिङ गरिसकेका विभिन्न ट्राभल एजेन्सीमार्फत जानकारी आएको छ। सिमकोटबाट हेलिकप्टरले हिल्सासम्म पर्यटक पुर्याउने काम भने अझै सुरु भएको छैन,' हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी सिटौलाले भन्नुभयो, 'केही दिनपछि हेलिकप्टरले पनि सेवा सुचारु गरेपछि थप पर्यटकीय गतिविधि बढ्ने देखिन्छ। तीर्थयात्रीका कारण धेरै समय सुनसान हुने सिमकोटमा चहलपहल सुरु भइसकेको छ।' उनका अनुसार हुम्लामा यस वर्ष चार ठूला होटल खुलेका छन्। ती होटलहरूको क्षमता 40 देखि 80 कोठासम्मका छन्।

धेरैजसो भारतीय पर्यटक पूर्णीमामा कैलाश परिक्रमा गर्न जाने गरेका छन्। विभिन्न तिथि, औंसी र पूर्णिमामा हेरेर तीर्थयात्रीले कैलाश दर्शनको बुकिङ गराउँछन्। उनीहरूको नेपालगन्ज, काठमाडौं र भारतका ट्राभल एजेन्सीमार्फत प्याकेज बुकिङ हुने गरेको छ। भूकम्पपछि चीनले तातोपानी र केरुङ नाका बन्द गरेपछि कैलाश जाने सबै तीर्थयात्रीहरू नेपालगन्ज–सिमकोट–हिल्सा रुटबाट जान थालेका हुन्।

जानकारी तथा लेखहरु