फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाललाई आगामी तेर्‍ह वर्षभित्र सुर्तीमुक्त बनाइने

(GMT+08:00) 2017-05-09 16:25:31

नेपाल सरकारले सन् 2030 अर्थात् अबको 13 वर्षभित्र मुलुकलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने लक्ष्य निर्धारण गरेको छ। राजधानीमा हिजो सोमबार सुरु 'सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि दक्षिण एसियाली नेतृत्व' विषयक कार्यक्रमको उद्घाटनमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले उक्त अवधिमा नेपाललाई सुर्तीजन्य पदार्थमुक्त बनाउने लक्ष्य सरकारले लिएको जानकारी गराउनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

मन्त्री थापाले त्यसका लागि आगामी वर्ष सन् 2018 भित्र सुर्तीजन्य पदार्थको खोललाई 'प्लेन प्याकेजिङ'मा लैजाने तयारी भइरहेको सुनाउनुभयो। "सन् 2030 सम्ममा देशलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने हो, यसका लागि सरकारले आवश्यक तयारी सुरु गरिसकेको छ", उहाँले भन्नुभयो।

उहाँले कानुनी र नीतिगत रूपमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा उल्लेख्य काम भएको दाबीसमेत गर्नुभयो। उहाँले सार्वजनिक स्थलमा सुर्ती सेवन गर्न नपाइनेदेखि लिएर खोलमा 90 प्रतिशत चेतावनीयुक्त चित्रअंकित गर्नुपर्ने नियमका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा गरिएको प्रतिबद्धता पूरा गर्न सरकार दृढ रहेको बताउनुभयो।

चेतावनीयुक्त सन्देश छाप्नुपर्ने नियमलाई बढाएर शतप्रतिशत पुर्याउने बेला आइसकेको उहाँले बताउनुभयो। "नसर्ने रोगको प्रमुख कारक धूमपान तथा सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा म लागिरहनेछु", उहाँले भन्नुभयो।

चेतावनीयुक्त चित्र वा सन्देश अनिवार्य राख्नुपर्ने नियम विदेशी र केही स्वदेशी उद्योगले पालना गरे पनि 75 प्रतिशत बजार ओगटेको सूर्य नेपाललगायतले भने अझै कार्यान्वयन नगरेको पाइएको छ।

कार्यक्रममा दी युनियनका एसिया प्रशान्त क्षेत्रका निर्देशक तारासिंह बमले सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालको प्रयास विश्वमै उदाहरणीय बन्दै गएको बताउनुभयो। यही प्रगतिकै प्रतिफलस्वरूप दक्षिण एसियाली कार्यक्रम काठमाडौंमा आयोजना भएको उहाँको भनाइ थियो।

"एक वर्षभित्र सुर्तीजन्य पदार्थलाई प्लेन प्याकेजिङमा लैजान सके अर्को उदाहरणीय काम हुनेछ", उहाँले भन्नुभयो। हाल अस्ट्रेलियामा प्लेन प्याकेजिङको व्यवस्था छ। नेपालले दुई वर्षअघि सुर्तीजन्य पदार्थको खोलमा राखिने 75 प्रतिशत चेतावानीयुक्त चित्र तथा सन्देशलाई बढाएर 90 प्रतिशत बनाएको थियो।

त्यससँगै सुर्तीजन्य पदार्थ नियन्त्रणमा उदाहरणीय काम गरेको भन्दै नेपालले 1 करोड रुपैयाँ राशिको 'ब्लुमबर्ग ग्लोबल टोबाको कन्टोल अवार्ड' पाइसकेको छ। तालिममा 71 जनाको सहभागिता रहेको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले बताउनुभयो।

जानकारी तथा लेखहरु