चीनले आयोजना गर्न लागेको बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्राष्ट्रिय शिखर मन्चमा भाग लिनका लागि नेपालका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा 8 सदस्य टोली आज शुक्रबार बेलुकी काठमाडौँबाट बेइजिङ प्रस्थान गर्ने नेपाल खबर अनलाइनले लेखेको छ।
अर्थमन्त्री महरासँगै सूचना तथा संचार मन्त्री सुरेन्द्र बहादुर कार्की र भौतिक पूर्वाधार तथा यातयात मन्त्री रमेश लेखक पनि बीआरआई सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्छ।
सरकारी टोलीमा परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीहरू पनि सहभागी रहने छन्। सन् 2013 को सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले कजाकिस्तानको अस्तनामा 'एक्काइशौं शताब्दीको सिल्क रोड'को पुर्नोदयको घोषणा गरेदेखिको यता हुन लागेको यो सबैभन्दा ठूलो सम्मेलन हो।
बीआरआई सम्मेलनमा 28 देशका राष्ट्र प्रमुख, मन्त्रिस्तरीय एक सय प्रतिनिधि, त्यतिकै रूपमा अन्तराष्ट्रिय संस्थाका प्रतिनिधिसहित 1 हजार 2 सय प्रतिनिधिहरूले सम्मेलनमा भाग लिंदैछन्।
बेल्ट एन्ड रोड अवधारणामा समुन्द्री तथा स्थल मार्ग गरी हालसम्म 65 देश चीनसँग जोडिएका छन्। अन्य एक सय देशले चीनसँग समुन्द्री तथा स्थल मार्गबाट जोडिन चाहेका छन्।
चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले सन् 2013 मा घोषणा गरेको 'बेल्ट एन्ड रोड' अवधारणाले चीन र एसिया, युरोप तथा अफ्रिकाबीच जमिन र समुद्र मार्गबाट सडक, रेल, भौतिक पूर्वाधार निर्माण गरी आर्थिक विकास गर्ने लक्ष्य लिएको छ।