फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रपति भण्डारी बैंकक प्रस्थान

(GMT+08:00) 2017-05-12 15:55:09

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रबार श्रीलंकाको चार दिने भ्रमणका लागि थाइल्यान्डको बैंकक प्रस्थान गर्नुभएको छ। त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान अर्थमन्त्री कृष्णबहादुर महरा, सभामुख ओनसारी घर्ती लगायतले उहाँलाई विदाई गरेको नागरिक अनलाइनले लेखेको छ।

20 सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी बिहान सबा 10 बजे नेपाल वायुसेवाको विमानमा बैंकक प्रस्थान गर्नु भएको हो। राष्ट्रपतिको श्रीलंका भ्रमण टोलीमा सामान्य प्रशासनमन्त्री केशव कुमार बुढाथोकी, चिकित्सक, सल्लाहकार, राष्ट्रपति कार्यालय तथा परराष्ट्र मन्त्रालयका अधिकारी र सञ्चारकर्मी छन्।

श्रीलंकाको राष्ट्रपति मैत्रीपला सिरिसेनाको निमन्त्रणामा भण्डारी श्रीलंका भ्रमणमा निस्किनु भएको हो। श्रीलंका पुग्नुअघि आज एक दिन उहाँले थाइल्यान्डको राजधानी बैंककमा बिताउनु हुनेछ। बैंककमा रहँदा उहाँले केही महिनाअघि मृत्यु भएका थाइल्यान्डका राजा भूमिबोल अदुल्यादिजको समाधिस्थल पुगी समवेदना व्यक्त गर्ने कार्यक्रम छ।

श्रीलंकामा आइतबार राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघको एक सम्मेलनको समापन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा श्रीलंकाली राष्ट्रपतिसँग उहाँले द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। राष्ट्रपति भण्डारी जेठ 2 गते स्वदेश फर्कनुहुनेछ।

जानकारी तथा लेखहरु