फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा स्थानीय चुनावको दिन पनि हवाइ सेवा नियमित हुने

(GMT+08:00) 2017-05-13 15:35:47

नेपालमा भोलि हुने स्थानीय चुनावलाई लक्षित गरी गाडी गुडाउन रोक लगाइएपनि हवाइजहाज उडान नियमित हुने भएको छ। चुनावको दिन विमानस्थलका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सेवालाई नियमित बनाउन आवश्यक व्यवस्था गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

उहाँका अनुसार भोलिका लागि यात्रुलाई विमानस्थलदेखि गन्तव्यसम्म आवतजावतलाई सहज बनाउन पर्यटक बस र साझा यातायातलाई सेवा सञ्चालनका लागि आग्रह गरिएको छ। विमानस्थलमा चल्ने ट्याक्सीले भने सेवा दिने छैनन्। निर्वाचन आयोगबाट निकै थोरै पास पाएको जनाउँदै ट्याक्सी व्यवसायी संघले नचलाउने निर्णय गरेको छ। हाल विमानस्थलमा 208 भाडाका ट्याक्सी गुड्ने गरेकामा 35 वटाले मात्र भोलिको लागि 'पर्मिट' पाएका छन्। थोरैले चलाउने हुँदा आपसमा झगडा हुने भएकाले सबै ट्याक्सी नचलाउने निर्णय भएको बताइएको छ।

विमानस्थलले आफ्ना तीनवटै 'सिफ्ट'का कर्मचारीलाई आवतजावतका लागि पाँचवटा सवारीसाधन व्यवस्था गरिएको प्रवक्ता ठाकुरले बताउनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल अन्तर्राष्ट्रियतर्फ 90 र आन्तरिकतर्फ 300 बढी दैनिक उडान हुँदै आएको छ। अन्तर्राष्ट्रियमा 28 र आन्तरिकतर्फ हेलिकप्टरसहित 20 वायुसेवा कम्पनीले सेवा दिँदै आएका छन्।

विमानस्थलका पर्यटक तथा यात्रुको सुविधालाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले निर्वाचनका दिन उपत्यकाका विभिन्न चार वटा रुटमा पर्यटक बस चलाउने भएको छ। विमानस्थलदेखि पाँचतारे होटललाई लक्षित गरी चार वटा रुटमा पर्यटक बस चलाउने नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले जानकारी दिनुभयो।

यो सेवा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका यात्रुलाई दिइनेछ। बोर्डले विगतका बन्द हडतालका बेला सेवा दिइरहेकै चार वटा रुटमा पहिलो उडानदेखि अन्तिम उडानसम्म बस सञ्चालन गरिनेछ।

जानकारी तथा लेखहरु