फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निजामती अस्पतालमा कर्मचारी र सर्वसाधारणका बेग्लाबेग्लै समयमा सेवा

(GMT+08:00) 2017-05-13 15:46:46

चिनियाँ सहयोगमा निर्माण भएको निजामती अस्पतालले निजामती कर्मचारी र सर्वसाधारणका लागि जेठ 1 गतेबाट बेग्लाबेग्लै समयमा बहिरङ्ग सेवा दिने भएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा दीर्घराज आरसीले विशेष गरी कर्मचारीका लागि खोलिएको अस्पताल भन्दै लामो समय पालो कुर्नुपर्ने गुनासो आउन थालेपछि छुट्टाछुट्टै समयमा बहिरङ्ग सेवा दिन लागिएको बताउनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

उहाँले भन्नुभयो, "कर्मचारीले सेवा अवधि बढाउन पटकपटक गुनासो गर्दैआएका थिए। यहाँ सर्वसाधारणको चाप छ। त्यसैलाई व्यवस्थित गर्न दुई सिफ्टमा सेवा दिने निर्णय गरेका हौँ।"

अस्पतालमा दैनिक छ सयदेखि आठसयभन्दा बढी बिरामी बहिरङ्ग सेवाका लागि आउने गरेका छन्। निजामती कर्मचारीका लागि बिहान 9 देखि मध्याह्न 12 बजेसम्म र सर्वसाधारणका लागि दिउँसो 1 बजेदेखि 4 बजेसम्म बहिरङ्गमा सेवा दिइने छ। निजामतीका लागि बिहान 7 देखि 9 बजेसम्म र सर्वसाधारणका लागि बिहान 9 बजेदेखि टिकट लिइसक्नुपर्ने अस्पतालले जानकारी दिएको छ।

अस्पतालले साँझ 5 बजेपछि भने पेइङ सेवाअन्तर्गत पनि डेढ वर्षदेखि सेवा दिँदै आएको छ। पेइङ सेवामा उपचार गराउन चाहने बिरामीले 250 रुपैयाँको टिकट लिएपछि उपचार गराउन सक्छन्। नियमित समयमा उपचार गराउन रु सयको टिकट लिनुपर्छ।

जानकारी तथा लेखहरु