फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली उपप्रधानमन्त्रीद्वारा नेपाली राजदूताबासमा दिइएको सम्बोधन

(GMT+08:00) 2017-05-14 10:35:12

 

सर्वप्रथम त नेपाली राजदूतावासले चिनियाँ मित्र र चीनमा बसोबास गर्ने नेपालीहरुलाई आमन्त्रण गरी राजदूतावासमा स्वागत कार्यक्रम आयोजना गरेकोमा दूतावास परिवारलाई भ्रमण दलका सबै सदस्यहरुको तर्फबाट हार्दिक धन्यवाद दिन्छु ।

हामी बेइजिङमा भोली १४ मे २०१७ देखि शुरु हुन गइरहेको Belt and Road Forum for International Cooperation सम्बन्धी उच्चस्तरीय सम्मेलनमा भाग लिने सिलसिलामा आजै बेइजिङ आइपुगेका हौं । बेइजिङमा रहंदा उपर्युक्त सम्मेलनमा सहभागी हुनुका अतिरिक्त हामीले चिनियाँ उच्च अधिकारीहरूसंग द्वीपक्षीय बैठक पनि गर्नेछौं । मैले भोली दिउँसो १४ मे २०१७ का दिन सम्मेलनको Connectivity of Development Policies and Strategies सम्बन्धी सत्रमा मन्तव्य समेत राख्नेछु । म तपाईंहरुलाई खुशीका साथ यो सुनाउन चाहन्छु की हामीले यहाँ आउनुपूर्व हिजै मात्र Belt and Road Initiative सम्बन्धी समझदारी पत्रमा चीनसंग हस्ताक्षर गरेका छौं । यो समझदारी पत्रमा गरिएको हस्ताक्षरले नेपाललाई पूर्वाधार विकास, उत्पादन र लगानी विस्तार, पर्यटन र सांस्कृतिक प्रवर्द्धनका क्षेत्रमा पूँजी, प्रविधि र विज्ञता भित्र्याउन तथा अन्य अवसर जुटाउन ठुलो मद्दत पुग्नेछ भन्ने विश्वास लिएका छौं । त्यस समझदारीले जनस्तरको सम्बन्ध आदानप्रदानमा पनि थप बल पुग्नेछ। समझदारी पत्रमा हस्ताक्षरसंगै B & R सम्बन्धी यो सम्मेलन पश्चात नेपालजस्ता पूर्वाधारको विकासका ठूलो खाडल (GAP) भएका मुलुकलाई न्यून लागतमा श्रोतसाधन जुटाउन सहज हुने अपेक्षा हामीले राखेका छौं । अपेक्षा अनुरूपका उपलब्धीहरू, खास गरी चीनको रेल तथा सडक यातायातसँग नेपाललाई जोडेर पर्यटन प्रवर्धन, उत्पादन वृद्धि तथा बजार पहुँचमा हासिल गर्न भने हामी नेपालीले नै छिटोछिटो धेरै काम गर्नु पर्छ । अहिलेको अन्तरनिर्भर विश्वमा एक अर्काका प्रयासलाई जोडेर मात्र हामीले पर्याप्त लाभ लिन सक्छौं भन्ने मेरो विश्वास छ ।

चीन नेपालको एकदमै पुरानो असल छिमेकी मित्र राष्ट्र हो । हाम्रो दुःख सुखमा चीनले उदार र खुला ढुङ्गले सहयोग पुर्याइआएको छ । नेपालको आर्थिक, सामाजिक विकासमा चीनले पुर्याएको सहयोगका लागि चीन सरकारलाई नेपाल सरकार र जनताको तर्फबाट म धन्यवाद दिन्छु । गत सन् २०१५ को अप्रिल महिनामा नेपालमा आएको विनाशकारी भूकम्प पश्चातका खोजी, राहत तथा अहिले पुननिर्माणमा चीनले गरेको उदार सहयोगको पनि प्रशंसा गर्दछु । हामीले यो अवसरमा चीनको सहयोगमा स्याप्रुवेसी रसुवागढी सडक स्तरोन्नती र भूकम्पले विगारेका संरचनाको पुननिर्माणमा सहयोग सम्बन्धी एउटा सम्झौता र नेपाल–चीनबीच Cross Border Economic Development सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर समेत गर्नेछौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को गत मार्चको चौथो साता भएको चीन भ्रमणले दुर्इ मुलुक विचको सम्बन्धलार्इ थप गतिशील बनाउन मदत गरेको छ। सम्माननीय प्रधानमन्त्रीज्यू र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सि चिन फिङले सो भ्रमणका क्रममा दिशानिर्देश गर्नुभएबमोजिम काम गरेर हाम्रा दुइ मुलुक विचका परापुर्व काल देखिका घनिष्टतम् मित्रतालाई अझ मजबुत बनाइ दुर्इ मुलुकका जनताको हीतमा यस क्षेत्रकै शान्ति, स्थायित्व र संबृद्धिका लागि अगाडी काम गर्नुपर्छ भन्ने मेरो दृढ धारणा रहेको छ। हामी उच्चस्तरीय राजनैतिक भ्रमण आदानप्रदानलार्इ निरन्तरता दिन चाहान्छौ । दुर्इ मुलुक जोड्ने पूर्वाधारको छिटो र थप विकास गरेर लगानी र पर्यटन प्रवर्धन गर्दै जनस्तरको सम्बन्धलार्इ बढाएर नेपाल र चीन दुवै मुलुकका जनताको शान्ति, समृद्धि र स्थायित्वको चाहाना पुरा गर्नु हाम्रो कर्तब्य हो ।

चीनले नेपाललाई सधैं स्थिर र समृद्ध राष्ट्रको रुपमा विकास गरेको देख्न चाहन्छ । चीन जस्तो असल छिमेकी पाउनु हाम्रो लागि खुसीको कुरा हो । समग्रमा वर्तमान सरकारले चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकताकासाथ दुबै मुलुकको हीतमा अगाडी बढाएको छ भन्ने विश्वास यहां उपस्थित सबैलार्इ दिलाउन चाहन्छु।

नेपाल एक चीन नीतिमा दृढ छ । अझ यसो भनौं एक चीन नीति र नेपाली भूमि चीन विरोधी गतिविधिमा प्रयोग गर्न नदिने नीति हाम्रो परराष्ट्र नीतिको अभिन्न अंग हो । जसरी चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तर नेपाली जनताको छनोटको सम्मान गर्ने तथा नेपालमा भएका सरकार परिवर्तन र अझ भनौ ठुला राजनैतिक परिवर्तन पश्चात पनि नेपाललार्इ दिने सहयोगलार्इ निरन्तरता दिने नीति लियो त्यसैगरी नेपालले पनि जुनसुकै दल सरकारमा रहेपनि एक चीन नीति र नेपालमा चीन बिरोधी गतिविधी हुन नदिने कुरामा निरन्तरता दिएको छ। सबैजसो प्रमुख राजनैतिक दलहरु यसमा एक मत छन् ।

म तपार्इ यहाँ उपस्थित चिनीयाँ मित्रहरू र तपार्इमार्फत चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपालको अथाह सम्भावनाबाट लाभ लिन आह्वान गर्दछु । सरकार तपार्इहरूको लगानीको सुरक्षाको प्रत्यभुती गर्न व्यवसाय र लगानीका लागि उपयुक्त वातावरण बनाउन तथा अवसर जुटाइदिन तत्पर छ। अहिले हामीले समझदारी गरेको Cross Border Economic Development सम्बन्धी संझौताले चीनीयाँ लगानीकर्तालार्इ थप अवसर दिने छ भन्ने हाम्रो विश्वासछ। चीनसंग अहिले जुन पूंजी, प्रविधि सामर्थ्य र छिमेकीलार्इ सहयोग गर्ने तत्परता छ त्यो हाम्रो लागि एउटा राम्रो अवसर हो।

चीनमा विभिन्न पेशा व्यवसाय गरेर बस्ने नेपाली दिदीबहिनी दाजुभाइलाई चीन नेपालबीचको मित्रतालाई अझ गाढा र दुवै मुलुकका जनताको हितमा हुने गरी बढाउन आ–आफ्नो ठाउँबाट सघाउनुहोस् भन्ने आग्रह म गर्न चाहन्छु । यहां बसोवास गरिरहनुभएका तपार्इ नेपालीले जनस्तरको सम्बन्ध बढाउन र नेपालमा चिनियाँ पर्यटक, लगानी तथा प्रविधि भित्र्याउन हामीलार्इ सहयोग गर्नुहोस् भन्ने आग्रह गर्दछु । अन्तमा नेपाल–चीन वीचको मित्रता अमर रहोस् भन्दै मेरो भनाइ टुङ्ग्याउँछु ।

जानकारी तथा लेखहरु