फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

७३ प्रतिशत मतदान, पहिलो चरण उत्साहपूर्ण

(GMT+08:00) 2017-05-15 15:19:03

        पहिलो चरणअन्तर्गत तीन प्रदेशमा आइतबार भएको स्थानीय तह निर्वाचनमा ७३ प्रतिशत मत खसेको छ। २० वर्षपछि नागरिकले आफ्नो घरदैलोको सरकार छान्न मतदानमा उत्साहजनक सहभागिता जनाएको अन्नपूर्णपोस्टले लेखेको छ।

          प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८१ स्थानीय तहमा पहिलो चरणमा मतदान भएको हो। दुई वटा तहमा यसअघि नै प्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका थिए। आइतबार दोलखा, काभ्रे र कालिकोटका एकएक स्थानमा मतदान स्थगित भएको छ।

          निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार तीनै प्रदेशमा ७३ प्रतिशत मत खसेको छ। सबैभन्दा बढी भक्तपुरमा ८३ प्रतिशत मत खसेको छ भने रसुवामा ८२ प्रतिशत मत खसेको छ। काठमाडौंमा ७५.५ प्रतिशत मत खसेको छ भने ललितपुरमा ७९.७६ प्रतिशत मत खसेको छ। सबैभन्दा कम मनाङमा ५३ प्रतिशत, म्याग्दीमा ६८ प्रतिशत र तनहुँमा ६९ प्रतिशत मत खसेको छ। दोस्रो संविधानसभा निर्वाचनमा ७९ प्रतिशत मत खसेको थियो। निर्वाचन आयोगका अधिकारीहरू आयोगले प्रारम्भिक विवरण संकलन गरेको र देशभर मतदान भएपछि मात्र एकिन तथ्यांक सार्वजनिक गर्न सकिने बताउँछन्। आयोगले आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरे पनि बिहानैदेखि मतदान केन्द्रमा मतदाताको भीड लागिसकेको थियो। युवा पुस्तादेखि ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, किरियापुत्री, दृष्टिविहीनसम्मले निकै उत्सुकतापूर्वक मतदानमा सहभागिता जनाएको निर्वाचन आयोगले उल्लेख गरेको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो चरणमा जनताको उत्साहले जेठ ३१ गते निर्धारित दोस्रो चरणको निर्वाचनमा सहभागी हुन मतदातालाई उत्साहित बनाउने विश्वास व्यक्त गर्नुभएको छ। ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिकामा प्रमुख/उपप्रमुखसहित वडाध्यक्ष, महिला वडाध्यक्ष, दलित महिला वडाध्यक्ष र खुला महिला वडाध्यक्ष निर्वाचनका लागि मतदान भएको हो। पहिलो चरणबाट नगरप्रमुख/अध्यक्ष २८३, उपप्रमुख वा उपाध्यक्ष २८३, वडाध्यक्ष २,५९८, महिला वडा सदस्य २,५९८, दलित महिला वडा सदस्य २,५९८ र खुला ५,१९६ सदस्य निर्वाचित हुनेछन्। प्रमुख वा अध्यक्षमा १ हजार ७ सय २३ पुरुष र १ सय ५७ महिला उम्मेदवार छन्। उपप्रमुखमा भने महिलाको संख्या निकै बढी छ।

जानकारी तथा लेखहरु