फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा मानव अंग प्रत्यारोपणमा फड्को

(GMT+08:00) 2017-05-16 16:53:48
         नेपालमा पहिलो पटक २३ वर्षअघि मृत शरीरबाट आँखाको नानी निकालेर जीवित व्यक्तिमा प्रत्यारोपण गरिएको थियो। त्यससँगै सुरु भएको मानव अंग प्रत्यारोपण सेवा विस्तार हुँदै मस्तिष्क मृत्युपछिको अंग प्रत्यारोपणसम्म आइपुगेको कारोबार दैनिकले लेखेको छ।

          भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले बिहीबार जिप दुर्घटनामा मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका सिन्धुलीका ३० वर्षीय गोविन्द भुजेलका मिर्गौला झिकेर दुई व्यक्तिमा सफल प्रत्यारोपण गरेको हो। मस्तिष्क मृत्यु भएपछि अंगदानको बाटो खोल्दै पाँच महिनाअघि मात्र नियमावली बनेको थियो। त्यसपछि पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग झिकी अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको हो।

          केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले लामो प्रयासपछि ब्रेन डेथ भएका व्यक्तिको अंग प्रत्यारोपण गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए। एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मृगौला, फोक्सो, मुटु, कलेजो, प्यान्क्रियाज, सानो आन्द्रा, आँखाका नानी तथा छालालगायत अंग दान हुन सक्छन्। काठमाडौं उपत्यकामा मात्रै बर्सेनि १ हजार जनाको ब्रेन डेथ हुने गरेको उनले सुनाए।

          चिकित्सकका अनुसार त्यस्ता व्यक्तिका मुटु, फोक्सोलाई कृत्रिम रूपमा १५ घण्टासम्म चलाउन सकिन्छ। मस्तिष्क मृत्युपश्चात् जतिसक्दो चाँडो अन्य अंग निकालेर जीवित व्यक्तिमा प्रत्यारोपण गर्नु नै मस्तिष्क मृत्युपछिको अंगदान हो।

          काठमाडौं ढोकाटोलकी चिनीमाया तुलधारले विस २०५१ पहिलो पटक वीर अस्पतालमा आँखा दान गरेकी थिइन्। उनले दान गरेको आँखा तिलगंगास्थित आँखा बैंकमार्फत प्रत्यारोपण गरिएको थियो। त्यसपछिको अवधिमा २२ हजारभन्दा बढी व्यक्तिले प्रत्यारोपणमार्फत संसार देख्ने अवसर पाइसकेका छन्।

           त्यस्तै सन् २००८ मा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरियो। सन् २०१३ बाट वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको थियो। निजी क्षेत्रबाट नोबेल अस्पतालले बोनम्यारो प्रत्यारोपण सुरु गरेको थियो। थालेसिमिया, सिकलसेल एनेमिया, ब्लड क्यान्सर, ए प्लास्टिक एनेमियाजस्ता रगतसम्बन्धी रोगका बिरामीलाई बोनम्यारो प्रत्यारोपण गरिन्छ।

           २०७३ मंसिर १६ गते मन्त्रिपरषद् बैठकले अंग प्रत्यारोपण नियमित तथा निषेध नियमावली २०७३ पारित गरेको थियो।

जानकारी तथा लेखहरु