फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दमकमा चीनले इन्डस्ट्रियल पार्क बनाइदिने

(GMT+08:00) 2017-05-17 17:59:02

       दमकमा चीन सरकारले क्लिन इन्डस्ट्रियल पार्क बनाइदिने भएको छ। चीनले 'वान बेल्ट वान रोड' (ओबर) अन्तर्गत पार्क निर्माण गर्ने भएको हो। चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार पार्क निर्माणबारे चिनियाँ पक्षसँगको सम्झौतामा हस्ताक्षर गरेका छन्।

        दमक १० मा ५ सय बिघामा पार्क निर्माण हुने नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिएको र्इकान्तिपुरले लेखेको छ। पार्कमा ओबरअन्तर्गत चीनले ३ सय अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। पार्कका लागि नेपाल औद्योगिक क्षेत्र विकास लिमिटेडअन्तर्गतको दमक क्लिन इन्डस्ट्रियल पार्क प्रालिले जमिनको व्यवस्था गर्नेछ। सम्झौतामा ओबरलाई जमिन ४० वर्षका लागि लिजमा दिने उल्लेख छ। पार्कमा इलेक्ट्रोनिक, अटो मोबाइल्स, गार्मेन्ट, खाद्यान्नलगायत अन्तर्राष्ट्रिय मापदण्डका ९० उद्योग स्थापना हुने अधिकृत दाहालले बताए। पार्कभित्रै ४० प्रतिशत खुला क्षेत्र, स्कुल, बैंक, हस्पिटल, सपिङ मल, मजदुर आवाससमेत निर्माण हुनेछन्। पार्क निर्माणबारे आगामी साउनदेखि विस्तृत अध्ययन सुरु गर्ने चिनियाँ पक्षले जनाएको छ।

        चीनले विशेष गरी नेपाल, भारत, बंगलादेश र म्यानमारको बजारमा आफ्नो पहुँच विस्तार गर्न दमकमा इन्डस्ट्रियल पार्क निर्माण गर्न लागेको अधिकृत दाहालले बताए। उनका अनुसार पार्क निर्माण भए करिब एक लाखले रोजगारी पाउनेछन्। दाहालले पार्कका लागि करिब दुई सय बिघा जमिन प्राप्त भइसकेको र बाँकी तीन सय बिघा जमिन अधिग्रहण गर्नुपर्ने बताए।

         औद्योगिक पार्कका लागि हाल रतुवा खोलामा पुल निर्माणको काम भइरहेको छ। विस्तृत अध्ययनलगत्तै रतुवा खोलामा तटबन्धको काम सुरु गर्ने अधिकृत दाहालले बताए।

जानकारी तथा लेखहरु