फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बढ्यो औद्योगिक उत्पादन

(GMT+08:00) 2017-05-17 17:59:35

        विद्युत् आपूर्तिमा आएको सुधारले उद्योग क्षेत्रलाई साथ दिएको छ। विद्युत् आपूर्तिसँगै इन्धन तथा कच्चा पदार्थकोसमेत सहज आपूर्तिका कारण औद्योगिक उत्पादनमा सुधार आएको राष्ट्र बैङ्कले जनाएको छ। बैङ्कले मङ्गलबार सार्वजनिक गरेको नौ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालू आर्थिक वर्षमा औद्योगिक उत्पादन १०.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ।

         गत वर्षमा ऋणात्मक रहेको औद्योगिक उत्पादनमा क्रमशः सुधार हुँदैगएको राष्ट्र बैङ्कले जनाएको छ। गत आर्थिक वर्षमा औद्योगिक उत्पादन ६.३ प्रतिशतले ऋणात्मक रहेको बैङ्कको संशोधित अनुमान छ। देशभर लोडसेडिङ अन्त्य गर्ने सरकारको अभियान अनुसार विद्युत् आपूर्तिमा क्रमशः सुधारसमेत हुँदैगएको र त्यसको प्रत्यक्ष प्रभाव औद्योगिक क्षेत्रमा देखिएको गोरखापत्रअनलाइनले लेखेको छ।

         राष्ट्र बैङ्कका अनुसार कृषि क्षेत्रमा पनि चालू आर्थिक वर्षमा क्रमिक सुधार देखिएको छ। अनुकुल मौसमका कारण चालू आवमा यो क्षेत्रले ५.३ प्रतिशतसम्मको वृद्धिदर हासिल गर्न सक्ने अनुमान गरिएको छ। गत आवमा यो वृद्धिदर ०.०३ प्रतिशतमा सीमित थियो। अपेक्षा गरिएभन्दा राम्रो बर्षा, पुनर्निर्माणको काम र ऊर्जा आपूर्तिले समग्र आर्थिक बढी हुन सक्ने राष्ट्र बैङ्कले उल्लेख गरेको छ।

          केन्द्रीय तथ्याङ्क विभागको ६.९ प्रतिशतको प्रक्षेपणलाई आधार मानेर राष्ट्र बैङ्कले लक्षित ६.५ प्रतिशतको आर्थिक वृद्धिदर पार हुने जनाएको छ। बैङ्कका अनुसार सेवा क्षेत्रको अवस्था पनि चालू आवमा सुखद देखिएको छ। गत वर्ष २.०६ प्रतिशतको मात्र वृद्धिदर हासिल गरेको यो क्षेत्रले चालू आवमा ६.९ प्रतिशत वृद्धिदर हासिल गर्ने अनुमान राष्ट्र बैङ्कको छ।

          नेपालको व्यापार घाटा भने चुलिदैं गएको तथ्याङ्क राष्ट्र बैङ्कको छ। चैतसम्म नेपालको व्यापार घाटा ४२.६ प्रतिशतले बढेर छ सय ७१ अर्ब २० करोड पुगेको छ। यस अवधिमा आयात ३९.७ प्रतिशतले बढेर रु. सातसय २६ अर्ब ४१ करोड पुगेको तथ्याङ्क छ।

जानकारी तथा लेखहरु