फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सबै प्रदेशमा जलाधार विभाग राख्न माग

(GMT+08:00) 2017-05-17 18:00:49

        वन तथा भू–संरक्षण मन्त्रालयलअन्तर्गत भू तथा जलाधार संरक्षण विभागले प्रत्येक प्रदेशमा जलाधार विभाग राख्न माग गरेको छ। पानीको स्रोतको संरक्षण तथा जैविक विविधता संरक्षण कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउन प्रत्येक प्रदेशमा जलाधार विभाग राख्न माग गरिएको कारोबार दैनिकले लेखेको छ।

         विभागले पछिल्लो समय तालतलैया तथा पानीको मुहान सुक्दै गइरहेको भन्दै समयमा नै संरक्षण र व्यवस्थापनका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सबै प्रदेशमा जलाधार विभाग राख्न सम्बन्धित क्षेत्रका विज्ञले जोड दिएका छन्।

         विभागका महानिर्देशक विजयराज पौडेलले जलाधार व्यवस्थापन कार्यक्रमलाई देशभर प्रभावकारी बनाउन प्रत्येक प्रदेशमा छुट्टै विभाग राख्न आफूहरूले माग गरिरहेको बताए। फेवा, रारा, सेफोक्सुन्डोजस्ता ठूला तालको समेत क्षेत्रफल घटिरहेको र त्यस्ता प्राकृतिक सुन्दरता र रमणीय तालहरू संकटमा परेको र प्राकृतिक, तथा पर्यटकीय विकास खस्कन सक्ने भन्दै समयमा नै यस्ता तालतलैया संरक्षण तथा प्रभावकारी बनाउन प्रत्येक प्रदेशमा छुट्टै विभाग रहन आवश्यक रहेको बताए।

          पौडेलका अनुसार अहिले छलफलकै विषय भइरहेकाले अब छिट्टै वनको संरचना स्थानीय तहमा कस्तो हुने भन्ने टुंगो लागेसँगै जलाधार विभाग छुट्टै रहने कि नरहने भन्ने विषयमा टुंगो लाग्ने छ।

         भूगर्भविद् डा. रञ्जनकुमार दाहालले भूकम्पपछि सतहमुनिका पानीका स्रोतहरू सुक्दै गइरहेको बताए। "बाढी–पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्तिका कारण खानेपानीका स्रोत तथा जलाधारहरू सुक्दै छन्, जसले गर्दा तालतलैयामा पनि ह्रास पुगको छ," उनले भने, "समयमा नै पानीका स्रोतहरूको संरक्षणका लागि छुट्टै गुरुयोजना तय गरेर अगाडि बढ्न आवश्यक छ।"

         भू–संरक्षणविद् डा. प्रेम पौडेलले पानीको मुहान तथा ताल संरक्षण गर्न जलाधारको संरक्षण र व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए।

जानकारी तथा लेखहरु