फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'एक पेटी एक मार्ग' नेपालका लागि कोसेढुंगा: सभामुख

(GMT+08:00) 2017-05-18 18:00:35

        केही दिनअघि चीनसँग हस्ताक्षर भएको 'एक पेटी एक मार्ग' कार्यक्रम नेपालका लागि कोसेढुंगा हुने सभामुख ओनसरी घर्तीमगरले बताएकी छन्। उनले रोडका माध्यमबाट लगभग विश्वलाई जोड्ने यो महत्त्वाकांक्षी कार्यक्रम नेपालजस्तो विकासको गतिमा बामे सर्दै गरेको र विकसित देशहरूका लागि समेत कोसेढुंगा सावित हुनेछ भन्ने विश्वास लागेको बताइन्।

         राजधानीमा आयोजित क्वान्टन कडेस ग्लोबल महिला उद्यमशीलता सशक्तिकरण अभियान उद्घाटन कार्यक्रममा उनले महिला सशक्तिकरणका लागि थालनी गरिएको यो कार्यक्रमबाट सबै तह र तप्काका नेपाली महिलाहरू बढी लाभान्वित हुनेछन् भन्ने अपेक्षा राखेको र्इकान्तिपुरले लेखेको छ।

      'सामाजिक, सांस्कृतिक आदानप्रदान यो कार्यक्रमको एउटा पक्ष हो भने भौगोलिक सम्बन्ध र आर्थिक साझेदारीसहित प्रगति अर्को महत्त्वपूर्ण पक्ष हो,' उनले भनिन्। महिलाहरूको आर्थिक स्वतन्त्रता, उद्यमशीलता, व्यावसायिकता र उत्पादनशीलतामा केन्द्रित कार्यक्रमहरू नेपालको सन्दर्भमा निकै महत्त्वपूर्ण हुने उनले बताइन्। त्यसका लागि एक पेटी एक मार्गको बृहत् कार्यक्रमअन्तर्गत अन्य कार्यक्रमहरू पनि क्रमिक रूपले तय हुनुपर्ने उनको धारणा छ।

         'संविधानसभाबाट नयाँ संविधान बनेसँगै नेपाल राजनीतिक स्थिरतातर्फ अघि बढिरहेको र संविधानको महत्त्वपूर्ण कार्यभारअन्तर्गत अहिले देश स्थानीय तहको निर्वाचनमा होमिएको सभामुख घर्तीमगरले चिनियाँ उद्यमीमाझ भनिन्।

         कार्यक्रम ओबीओआर नेपाल अन्तर्राष्ट्रिय लगानी मञ्च आयोजना गरेको हो। 'ओबीओआरभित्र महत्त्वपूर्ण धेरै विषयगत कार्यक्रमहरू रहेका छन्,' मञ्चका अध्यक्ष भास्करराज राजकर्णिकारले भने, 'यसमध्ये महिला उद्यमशीलता र सशक्तिकरण एउटा महत्त्वपूर्ण कार्यक्रम हो। त्यसको थालनी नेपालले सुरु गरेको हो। बिस्तारै अन्य कार्यक्रमहरूसमेत सुरु गरिनेछन्।'

जानकारी तथा लेखहरु