फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बैंकबाट दश लाखभन्दा बढी झिक्नुपरे कारण देखाउनुपर्ने

(GMT+08:00) 2017-05-18 18:01:37

        आगामी साउन महिनादेखि बैंकबाट १० लाख वा सोभन्दा बढी रकम सजिलै झिक्न नपाउने भएको छ। १० लाखभन्दा बढीको नगद झिक्नुपर्ने भएमा स्पष्ट रुपमा कारण खुलाएर तोकिएको ढाँचामा निवेदन दिनुपर्ने र नगद नै झिक्नुपर्नेगरी कारण उचित नदेखिएमा झिक्न नपाइने भएको सेतोपाटीले लेखेको छ।

          हालसम्म ३० लाख वा सोभन्दा बढी रकम झिक्दा मात्रै यस्तो कारण खुलाउनुपर्ने वाध्यता थियो। नेपाल राष्ट्र बैंकले हालै सम्पूर्ण बैंकहरुलाई १० लाखभन्दा माथिको नगद कारोबार नगर्न भन्दै परिपत्र गरेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले जानकारी दिए। यद्यपी नगद नै चाहिएको अवस्थामा भने स्पष्ट कारण उल्लेख गरी निवेदन दिनुपर्ने उनले बताए।

          गत मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ५० लाखको सीमालाई ३० लाखमा झारेको थियो। हाल पुनः यसलाई घटाएर १० लाखमा झारिएको हो। 'साधारण खर्चका लागि १० लाख रुपैयाँ भनेको धेरै हो, ठूलो पुँजीका लागिबाहेक कायम गरिएको सीमाले पुग्छ' सिवाकोटीले भने 'त्यसकारण अवैधानिक काममा रकम दुरुपयोग नहोस् भनेर यो व्यवस्था गरिएको हो।'

          नगदलाई निरुत्साहित गर्दै बैंकिङ कारोबारलाई बढवा दिन यस्तो व्यवस्था लागू गर्न लागिएको सम्वद्ध अधिकारीहरु बताउँछन्। १० लाखभन्दा बढीको चेक दिएमा त्यसलाई आफ्नै खातामा जम्मा गर्न भने मिल्छ। १० लाखभन्दा धेरै रकम जम्मा गर्दा आम्दानीको स्रोत खुलाउनुपर्ने व्यवस्था रहँदै आएको छ।

          अब बैंकबाट १० लाख वा सोभन्दा बढी रकम झिक्नु परेमा स्पष्ट काम खुल्नेगरी कारण तथा माग भएको खण्डमा पुष्टि हुने अन्य कागजात समेत बुझाउनुपर्नेछ। यस्तो व्यवस्थाले गैह्रकानुनी कामका लागि रकम परिचालन हुन नसक्ने र अर्थव्यवस्थालाई नै सघाउ पुग्ने नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल शाहको भनाइ छ।

जानकारी तथा लेखहरु