फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नौ महिनामा साढे २९ अर्ब रुपैयाँको खाद्यान्न आयात

(GMT+08:00) 2017-05-19 16:26:49

       मुलुकमा खाद्यबाली उत्पादनमा वृद्धि भए पनि नौ महिनामै साढे २९ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ। चालू आर्थिक वर्षको नौ महिनामै सरकारले छिमेकी राष्ट्रहरूबाट यति धेरै मूल्यको खाद्यान्न आयात भएको हो। स्थानीय उत्पादनले माग धान्न नसक्नु, खानेबानीमा आएको परिवर्तनलगायतका कारणले खाद्यान्नको आयात बढ्दै गएको कारोबार दैनिकले लेखेको छ।

        यो वर्ष धान उत्पादनमा २२ प्रतिशतले वृद्धि भइ ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भए पनि नौ महिनाको अवधिमा चामल मात्र १८ अर्ब ५० करोड २२ लाख ४९ हजार रुपैयाँको आयात भएको केन्द्रको तथ्यांकले देखाएको छ। यो वर्ष मुलुकमा खाद्यान्न उत्पादन बढे पनि समग्र आयात भने घट्न सकेको छैन।

        मुलुक कृषिप्रधान देश भए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा अधिकांश कृषिजन्य सामान आयात हुने गरेको छ। आयातको तुलनामा कृषिजन्य सामग्रीको निर्यात भने अति न्युन हुने गरेको छ।

         व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको तथ्यांकअनुसार पछिल्लो नौ महिनाको अवधिमा २९ अर्ब ४१ करोड सात लाख ७७ हजार रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ। गत आवको सोही अवधिमा २६ अर्ब २९ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो। जसमध्ये चामल, गहुँ, जौ, मकै लगायतका अन्य खाद्यान्न आयात भएका छन्।

          कृषि विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा धान उत्पादन ९ लाख ३१ हजार मेट्रिकले बढेर ५२ लाख ३० हजार पुगेको थियो। स्थानीयस्तरमा उत्पादन बढे पनि आयात कम नहुँदा मुलुकमा परनिर्भरता बढ्दै गएको देखिन्छ। यो वर्ष धान, मकै, कोदो, फापरको उत्पादनमा वृद्धि भएको थियो।

          केन्द्रको तथ्यांकअनुसार यस अवधिमा ७ अर्ब ४८ करोड, ३ लाख ५८ हजार रुपैयाँको मकै र मकैको बीउ आयात भएको छ। मकै पोल्टी फर्ममा दानाको लागि बढी आउने गर्छ।

           त्यस्तै सोही अवधिमा १ अर्ब ८२ करोड ६२ लाख ९० हजार रुपैयाँको गहुँ आयात भएको छ। यस्तै सोही अवधिमा ६८ लाख ४५ हजार रुपैयाँको जौ आयात भएको छ। विशेषगरी छिमेकी मुलुक भारतसहित थाइल्यान्ड, अर्जेन्टिना लगायतबाट मुलुकमा खाद्यान्नको आयात हुने गर्दछ।

           खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि कृषिमा बजेट बढाए पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन। सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ।

जानकारी तथा लेखहरु