फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकको रोजाइ संरक्षित क्षेत्र

(GMT+08:00) 2017-05-21 14:38:56

भूकम्पले भत्किएका नेपालका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण निर्धारित समयमा हुन नसकेपछि नेपाल भित्रिने विदेशी पर्यटक संरक्षित क्षेत्रतर्फ बढी आकर्षित हुन थालेका छन्। हुनत विगतको तथ्याङ्क हेर्दा नेपाल घुम्न आउने पर्यटकमध्ये 60 प्रतिशतभन्दा बढी पर्यटक संरक्षित क्षेत्रमा घुम्ने गरेका थिए तर पछिल्लो अबस्थामा यो संख्या वृद्धि भएर झण्डै 80 प्रतिशत पुगेको सम्बद्ध सरकारी अधिकारीले दावी गरेको गोर्खापत्र अनलाइनले लेखेको छ। विगतका वर्षमा संरक्षित क्षेत्रबाट उठ्ने राजस्वको दर वार्षिक रूपमा कम्तीमा 50 करोड रुपियाँ हुन्थ्यो भने यो वर्ष अझै वृद्धि हुने अनुमान गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार गत दुई वर्षअघिको महाभूकम्पपछि नेपाल भित्रिने पर्यटकहरूका लागि रोजाइको क्षेत्र राष्ट्रिय निकुञ्ज तथा अन्य संरक्षित क्षेत्र भएकाले राजस्व उठ्ने दर पनि वृद्धि भइरहेको छ।

नेपाल भित्रिने विदेशी पर्यटकमध्ये सबैभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्ज घुम्ने गरेका छन्। संरक्षित क्षेत्रभित्र पस्ने कुल पर्यटकमध्ये झण्डै 70 प्रतिशत चितवन पुगेका हुन्छन्। महानिर्देशक खड्काले भन्नुभयो, विदेशीले हेर्ने, अवलोकन गर्ने धार्मिक तथा सांस्कृतिक सम्पदाको निर्धारित समयमा पुनर्निर्माण हुन नसक्दा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको चापमा अझ वृद्धि भइरहेको छ। यसले गर्दा राजस्वमा पनि वृद्धि हुने सम्भावना बढेको छ। " विभागका अनुसार गत आर्थिक वर्षमा राष्ट्रिय निकुञ्ज तथा अन्य संरक्षित क्षेत्रमा पर्यटकले घुम्दा तिरेको शुल्कबाट 53 करोड रुपियाँ सङ्कलन भएको थियो। गत पाँच वर्षको राजस्व सङ्कलन दर हरेक वर्ष 10 प्रतिशतका दरले वृद्धि भइरहेको विभागका योजना अधिकृत अमिर महर्जनले बताउनुभयो।

महर्जनका अनुसार चालु आर्थिक वर्षमा यो गतवर्षको भन्दा राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रबाट उठ्ने राजस्व रकम वृद्धि हुने अपेक्षा गरिएको छ। गत फागुन महिनासम्ममा बर्दिया राष्ट्रिय निकुञ्जमा झण्डै 13 करोड राजस्व सङ्कलन भइसकेको निकुञ्ज प्रमुख रमेशकुमार थापाले जनाउनुभयो। गतवर्ष बेलायती राजकुमार प्रिन्स ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गरेपछि विशेष गरी बेलायत र आसपासका युरोपेली मुलुकबाट आउने पर्यटकको संख्यामा वृद्धि भएको बताइएको छ। निकुञ्ज प्रमुख थापाका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ सजिलैसँग देख्न सकिने भएकाले बाघ हेर्नका लागि आउने विदेशी पर्यटकको रोजाइमा यो निकुञ्ज पर्न थालेको छ। चितवन राष्ट्रिय निकुञ्जमा पनि पर्यटक आउने संख्या पछिल्लो समयमा वृद्धि भइरहेको छ। निकुञ्ज प्रमुख रामचन्द्र कँडेलका अनुसार यो वर्ष कम्तीमा 30 करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। यसका लागि वार्षिक दुई लाख पर्यटक भित्र्याउने विभिन्न रणनीति तथा पर्यटनका लागि आकर्षक योजना निकुञ्ज प्रशासनले ल्याइरहेको बताउनुभयो।

बाह्रसिँगाका लागि प्रख्यात मानिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि पछिल्ला दिनमा पर्यटक भित्रिने दर वृद्धि भइरहेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भन्नुभयो, बाह्रसिँगाको संख्या वृद्धिसँगै पर्यटकको संख्यामा पनि वृद्धि भइरहेको छ। यो वर्ष कम्तीमा एक करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेका छौँ। " उच्च हिमाली क्षेत्रमा पर्यटकको लागि सबैभन्दा बढी रोजाइको ठाउँ सगरमाथा राष्ट्रिय निकुञ्ज हो। निकुञ्ज प्रमुख गणेश पन्तका अनुसार भूकम्पपछि निकै थिलोथिलो भएको सगरमाथा क्षेत्रको पर्यटन व्यवसाय अलि तङ्ग्रिन थालेको छ। उहाँले भन्नुभयो, भूकम्प आउनु अघिल्ला वर्षमा वार्षिक 30 हजार पर्यटक भित्रिन्थ्ये। जसबाट वार्षिक 35 करोड रुपियाँसम्म राजस्व सङ्कन हुने गरेको थियो तर भूकम्पसँगै यहाँको पर्यटन व्यवसाय अलि सिथिल भए पनि अब बल्ल तङ्ग्रिन थालेको छ। यो वर्ष कम्तीमा आठ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएर काम गरिरहेका छौँ। " चितवनमा एकसिँगे गैँडा, बाघ, हात्ती, बर्दियामा बाघ, कृष्णसार, शुक्लाफाँटामा बाघ र बाह्रसिँगा, सगरमाथा राष्ट्रिय निकुञ्जमा सगरमाथा तथा उच्च हिमाली क्षेत्रका दृश्यावलोकनका लागि पर्यटकहरू आकर्षित हुने गरेका छन्। प्राकृतिक सम्पदामा आधारित पर्यटन व्यवसायमा नेपाल संसारकै उत्कृष्ट मध्येको एकमा पर्न सफल भएको छ।

http://gorkhapatraonline.com/news/40086

जानकारी तथा लेखहरु