फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा 9 महिनामा सवा खर्बको आयात

(GMT+08:00) 2017-05-22 16:43:54
नेपालमा कृषि उत्पादनमा अनुदान, ब्याज सहुलियत र बिमाका कार्यक्रम लागू भए पनि परनिर्भरता बढ्दै गएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको अघिल्लो 9 महिनामा 1 खर्ब 27 अर्ब 56 करोड 86 लाख रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ। यो अघिल्लो वर्षको 9 महिनाको अवधिमा भन्दा 21.69 प्रतिशतले बढी भएको कान्तिपुर अनलाइनले लेखेको छ।

अघिल्लो वर्ष 1 खर्ब 4 अर्ब 83 करोड 39 लाख रुपैयाँको आयात भएको थियो। आन्तरिक उत्पादनमा कमी, कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव, उत्पादकत्वमा आइरहेको ह्रास, सरकारी उदासीनता, आधुनिकीकरण हुन नसक्दा परनिर्भरता बढ्दै गएको हो। बजेट भाषणमार्फत घोषणा गरिने अनुदानसमेत प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा समस्या भएको हो।

'कृषिको बजेट बर्सेनि बढेको छ। तर, कृषि वस्तुको आयात प्रतिस्थापन गर्न आन्तरिक उत्पादन नै वृद्धि हुन सकेन। सरकारले विभिन्न कार्यक्रमका लागि अनुदान दिने दाबी गरे पनि अधिकांश किसानलाई जानकारी र पहुँच छैन,' अर्थविद् केशव आचार्यले भन्नुभयो, 'सरकारी संयन्त्रलाई प्रभावकारी बनाउन नसक्दा पनि परनिर्भर हुन बाध्य छौं।' सरकारले कृषि उत्पादनका लागि आर्थिक वर्ष 2072/73 मा 21 अर्ब 43 करोड र 2073/74 मा 27 अर्ब 43 करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। 2074/75 का लागि 30 अर्ब 58 करोड रुपैयाँ प्रस्ताव गरिएको छ। बजेट बढे पनि अनुदानको रकम कृषकका हातमा पुग्न नसकेको आचार्यको भनाइ छ।

विभागको तथ्यांकअनुसार सबैभन्दा बढी तेल, चामल, मकै, फलफूल, तरकारीको आयात भएको छ। 9 महिनाको अवधिमा 24 अर्ब 90 करोड रुपैयाँको कच्चा तेल (सोयाबिन, सनफ्लावर, केक, पाम) आयात भएको छ। अघिल्लो वर्षको 9 महिनामा 16 अर्ब 74 करोड रुपैयाँको तेल आयात भएको थियो। केन्द्रका उपनिर्देशक रवीन्द्र दुवाडीका अनुसार कच्चा तेल, मलेसिया, इन्डोनेसिया, ब्राजिल, युक्रेनलगायत मुलुकबाट आयात हुन्छ।

चामलको आयात पनि उल्लेख्य रूपमा बढेको उनले बताए। 9 महिनाको अवधिमा 18 अर्ब 50 करोड रुपैयाँको आयात भएको जनाइएको छ। अघिल्लो वर्षको 9 महिनामा 16 अर्ब 56 करोड रुपैयाँको आयात भएको थियो। चामल भारतबाट आयात हुन्छ।

14 अर्ब 30 करोड रुपैयाँको तरकारी र 6 अर्ब 92 करोड रुपैयाँको फलफूल आयात भएको छ। आयात हुने अधिकांश तरकारी र फलफूल कालिमाटी तथा फलफूल बजार र बल्खु बजारमा भित्रिन्छ। कालिमाटी तरकारी बजारले उपत्यकाको करिब 90 प्रतिशत माग धान्छ। उपनिर्देशक दुवाडीका अनुसार फलफूल चीन र भारतबाट आउँछ। तरकारीमा भने भारतकै भर पर्नुपर्छ। कृषि मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सापकोटा उपभोग गर्ने संख्या बढेकाले आयात बढेको बताए। उनले आयात घटाउन धेरै कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए। यीमध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मुख्य कार्यक्रम भएको उहाँले दाबी गर्नुभयो। 'यी कार्यक्रमले कृषिको आधुनिकरण गर्ने, उत्पादन उत्पादकत्व बढाउने काम गर्छ,' उहाँले भन्नुभयो।

गत वर्षको तुलनामा कृषि उत्पादन बढेको उनले दाबी गरे। 'गत वर्ष 43 लाख टन उत्पादन भएको धान हाल 52 लाख टन पुगेको छ। मकैको उत्पादन 3 प्रतिशतले बढेको छ। गहुँको उत्पादन 8 प्रतिशतल बढ्ने अनुमान गरेका छौं,' उहाँले भन्नुभयो, 'थप उत्पादन बढाउने प्रयास गरिरहेका छांै।' तथ्यांकअनुसार 9 महिनामा भारतबाट 7 अर्ब 48 करोड रुपैयाँको मकै आयात भएको छ। अघिल्लो वर्ष यही अवधिमा 6 अर्ब 20 करोड रुपैयाँको आयात थियो। 9 महिनाको अवधिमा 55 अर्ब 44 करोड रुपैयाँको अन्य कृषिजन्य उत्पादन आयात भएको छ। अघिल्लो वर्षको 9 महिनामा 50 अर्ब 32 करोड रुपैयाँको आयात भएको थियो।

अर्थविद् आचार्यले उत्पादन बढाउन अनुदान बढाउनुपर्ने बताए। 'भारत सरकारले दिने कृषि अनुदानसरह नेपाली कृषकलाई सहयोग गर्नुपर्छ,' उनले भने, 'भारतमा नहर नगएको ठाउँमा पम्पसेटबाट पानी तान्दा डिजेलमा अनुदान दिइन्छ।'

जानकारी तथा लेखहरु