फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तनहुँ हाइड्रोमा तीन कम्पनीद्वारा प्रस्ताव पेस

(GMT+08:00) 2017-05-23 16:48:04
तनहुँ जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियाका लागि तीन कम्पनीले प्राविधिक प्रस्ताव पेस गरेका छन्। पहिलो प्याकेजका लागि 5 कम्पनी पूर्वमूल्यांकनमा छनोट भए पनि 3 वटाले मात्र प्रस्ताव पेस गरेका कारोबार अनलाइनले लेखेको छ।

आयोजना निर्माणको ठेकेदार छनोटका लागि तनहुँ हाइड्रोपावर लिमिटेडले गतमाघ 19 गते प्रस्ताव पेस गर्न टेन्डर आव्हान गरेको थियो। दुईवटा प्याकेजका लागि एकैपटक बोलपत्र आव्हान गरेकोमा पहिलो प्याकेजका लागि 3 जेठ र दोस्रोका लागि 17 जेठसम्मका लागि समय थप गरिएको थियो।

पहिलो प्याकेजको लागि भारतको जयप्रकाश, चीनको चाइना गेजुबा गु्रप कर्पोरेसन र इटलीको सीएमसी राभेना कम्पनीले प्रस्ताव पेस गरेका छन्। तीन कम्पनीले पेस गरेको प्राविधिक प्रस्ताव खोलिएको आयोजनाले जनाएको छ।

ती कम्पनी योग्य ठहरिए भने मूल्यांकन प्रतिवेदन एसियाली विकास बैंक (एडीबी) मा पठाउने र एडीबीले 'नो अब्जेक्सन लेटर' दिएपछि वित्तीय प्रस्ताव खोलिने आयोजनाका सहनिर्देशक लोकप्रसाद नेपालले जानकारी दिनुभयो।

आगामी दुई महिनाभित्र प्राविधिक प्रस्ताव मूल्यांकन पूरा हुनेछ। कम्पनीले 2074 कात्तिकदेखि आयोजनाको निर्माण सुरु गर्ने गरी मूल्यांकनको काम टुंग्याउने योजनामा छ।

दुई 'प्याकेज' मा ठेक्का प्रक्रिया अघि बढाइएको छ। पहिलो प्याकेजमा बाँध, जलाशयलगायत सिभिल निर्माण छ भने दोस्रोमा विद्युत्गृह, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल काम पर्छ।

कम्पनीका अनुसार दुवै प्याकेजको ठेक्का आगामी कात्तिक दोस्रो सातासम्म टुंग्याइनेछ। आयोजना सन् 2017 को अक्टोबरमा सुरु गरी सन् 2022 सम्म पूरा गर्ने लक्ष्य छ।

सेती नदीमा ढुंगा, बालुवा तथा अन्य लेदो (सेडिमेन्ट) को बहाब अत्यधिक हुने हुँदा वर्षको एकपटक 40 दिन आयोजना बन्द गरेर 'प्लसिङ' गर्ने गरी डिजाइन तयार भएको छ।

आयोजनाको जलाशय क्षेत्रमा पर्ने जग्गाको मुआब्जा बाँड्ने काम तीव्र रूपमा अघि बढिरहेको छ। हालसम्म आयोजनाले जलाशय क्षेत्रका लागि 35 करोड मुआब्जा वितरण गरिसकेको छ।

सन् 2017 देखि सुरु भई 2022 सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको तेस्रो प्याकेजको टेन्डर डकुमेन्ट तयार पार्ने काम भइरहेको छ। टेन्डर डकुमेन्ट तयार भई तनहुँ हाइड्रो पावर लिमिटेड र प्रमुख दाता जाइका र एडीबीबाट स्वीकृत भएपछि तेस्रो प्याकेजको 40 किमी लामो 220 केभीको प्रसारणलाइन र भरतपुरमा सबस्टेसन निर्माण गर्न ठेक्का प्रक्रिया सुरु हुनेछ। प्रसारणलाइन निर्माण कार्यसमेत आयोजनासँगै सकिने गरी अघि बढाइनेछ।

करिब 50 अर्बको लगानीमा निर्माण हुने आयोजनाका लागि जाइकाले 183 मिलियन डलर, एडीबीले 150 मिलियन डलर, युरोपियन इन्भेस्टमेन्ट बैंकले 85 मिलियन डलर र नेपाल सरकारले 87 मिलियन डलर व्यहोर्नेछ। आयोजनाबाट साविक व्यास, भीमाद, छाङ, माझकोट, रिसिङ, कोटदरबार, जामुने, साभुङ, काहुँशिवपर गाविस प्रभावित हुनेछ।

आयोजनाको पूर्ण जलसतह 415 मिटर हुनेछ। 378 मिटर न्यूनतम सञ्चालन सतह रहने आयोजनाको कुल भण्डारण क्षमता 295.1 मिलियन घन मिटर हुनेछ। आयोजनाको 18 किमि क्षेत्रफलमा जलाशय क्षेत्र रहनेछ। आयोजनाको 140 मिटर अंग्लो क्रक्रिट बाँध बनाइने र उक्त जलाशयको क्षेत्रफल 7.26 वर्ग किमि रहनेछ।

जानकारी तथा लेखहरु