फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ शैलीको साङ्ग्रिला थाङ्का

(GMT+08:00) 2017-05-24 19:28:18


थाङ्का बौद्ध दर्शनमा आधारित एक विशिष्ट कला हो। धर्म शास्त्रको ज्ञान दिलाउन यस थाङ्का कलाको विकास भएको मानिन्छ। यस कला तिब्बतमा भने नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा स्रङचनगम्पोसँग विवाह भएपछि मात्र प्रवेश भएको मानिन्छ।

साथै पछिल्लो समयमा तिब्बतमा थाङ्काको विकास उच्च गतिमा भएको पाइन्छ र हाल विश्वमा नेपाली नाम पौभा भन्दा पनि थाङ्काको रुपमा परिचित छ। यो थाङ्का तिब्बतका साथै चीनका विभिन्न क्षेत्रमा बनाउँदैआएको पाइन्छ। यसको ठाउँ र जाति विशेषका आधारमा केही भिन्नता या आफ्नै विशेषता तथा शैली पनि रहेको छ।

युननानको साङ्ग्रिला शहर पनि थाङ्काका लागि प्रसिद्ध छ। हालै सिआरआई टोलीले साङ्ग्रिला भ्रमण क्रममा साङ्ग्रिलाको विशेषतायुक्त साङ्ग्रिला थाङ्का ईन्स्टिच्यूटको अवलोकन गरेको छ। जहाँ तिब्बती सँस्कृतिको जगेर्नाका साथै प्रचारप्रसार तथा नयाँ शैलीको थाङ्का पनि सिर्जना गरेको पाइयो।

सन् 2007मा स्थापित यस ईन्स्टिच्यूटका संस्थापक केल्साङ दावाले सन् 2012देखि स्थानीय विशेषतासँगै नेपाली र अरु तिब्बती थाङ्काको अध्ययनबाट आफ्नो विशेष शैलीको नयाँ साङ्ग्रिला थाङ्का सिर्जना गरेका छन्।

उनका अनुसार विभिन्न रङ्गको प्रयोग तथा चित्रमा फरकपन दिइएको छ। दावाले मुख्य पात्रको आकृति तथा आसनमा समेत केही नयाँ शैली दिएको बताए। उनले थाङ्का बनाउन सिकाइने ईन्स्टिच्यूटका साथै पसल र थाङ्कासहितको तिब्बती सँस्कृतिको प्रदर्शन कक्ष पनि खोलेका छन्।

तिब्बती सँस्कृतिको उत्तराधिकारको रुपमा तथा प्रचारप्रसार र विकासमा योगदान दिँदैआएका दावाले चीनको थाङ्का महागुरुको पदवी समेत प्राप्त गरेका छन्। उनको यो प्रदर्शन कक्ष नयाँ शैलीको साङ्ग्रिला थाङ्का अवलोकन गर्न तथा थाङ्काप्रति रुचि भएकाहरूका लागि एक पटक जानैपर्ने ठाउँ बनेको छ।

सिआरआईका लागि राजुको साथमा अजय अलौकिक

साङ्ग्रिला शहर,युननान प्रान्त

जन गणतन्त्र चीन

 

जानकारी तथा लेखहरु