फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहणको प्रक्रिया टुंगियो

(GMT+08:00) 2017-05-25 17:54:13

भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहणको अन्तिम प्रक्रिया टुंगिएको छ। पछिल्लोपटक विमानस्थलले थप 5 सय बिघा जमिन अधिग्रहण गर्ने भएको कान्तिपुर अनलाइनले लेखेको छ। उक्त विमानस्थलको क्षेत्रफल 7 सय 87 बिघा (करिब 10 हजार 5 सय रोपनी) कायम भएको छ।

हालसम्म सञ्चालनमा रहेका मुलुकका विमानस्थलमध्ये सबैभन्दा धेरै क्षेत्रफल कायम हुनेमा गौतम बुद्ध विमानस्थल भएको छ। विमानस्थलका लागि 2019 सालदेखि हालसम्म पाँचौँपटक जग्गा अधिग्रहण गरिएको छ। 2060 साल अघिसम्म 79 बिघा क्षेत्रफलमा रहेको उक्त विमानस्थल विभिन्न चार चरणमा 2 सय 8 बिघा थप गरिएपछि 2 सय 87 बिघामा अन्तर्राष्ट्रिय विमानस्थलको काम थालिएको थियो।

विमानस्थललाई सम्पूर्ण भौतिक पूर्वाधारसहितको अन्तर्राष्ट्रिय मापदण्डअनुरूप निर्माणका लागि पछिल्लोपटक थप 5 सय बिघा जमिन अधिग्रहण गरिएको हो। अधिग्रहणको प्रक्रिया टुंगिएपछि, पटकपटक गरिएको अधिग्रहणले स्थानीय जग्गाधनीमा हुने गरेको अन्योल पनि समाप्त भएको छ।

'विमानस्थल अब पूर्ण क्षमताको सम्पूर्ण पूर्वाधारसहितको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य थालिएको छ,' विमानस्थल सुदृढीकरण तथा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले भन्नुभयो, 'जग्गा अधिग्रहण गरिने क्षेत्रफल टुंगिएपछि जग्गाधनी मुआब्जाका लागि निवेदन दिन आउन थालेका छन्।'

पछिल्लोपटकको जग्गा अधिग्रहणमा 6 सय 15 परिवारको जग्गा परेको छ। जसबाट 3 सय 5 परिवारको घरसमेत सम्पूर्ण जमिन परेकाले पूर्ण रूपमा विस्थापित हुने भएका छन्। जग्गाको मुआब्जाका लागि आयोजनाले 23 अर्ब रुपैयाँ वितरण गर्नुपर्ने भएको छ।

आयोजना प्रमुख शर्माले मुआब्जाका लागि 4 अर्ब रुपैयाँ चालु आवका लागि छुट्याइसकिएकाले पहिलो चरणमा असार महिनामा वितरण गरिने र नपुग बाँकी रकम 6 महिनाभित्र उपलब्ध गराइने जनाउनुभयो।

यसका लागि आयोजना र जिल्ला मुआब्जा निर्धारण समितिले सिफारिस गरी बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिसकेका छन्। पूर्ण विस्थापित हुनुपर्ने परिवारका लागि आयोजनाले मुआब्जा र क्षतिपूर्तिबाहेक प्रतिपरिवार 5 लाख रुपैयाँका दरले स्थानान्तरण खर्चसमेत उपलब्ध गराउने भएको छ। यसअन्तर्गत करिब 30 करोड रुपैयाँ खर्च हुनेछ। जग्गा अधिग्रहण गरिँदा खेत तथा घरबारीमा भएका फलफूल र अन्य बोटबिरुवाको समेत उचाइको आधारमा क्षतिपूर्ति गराइने भएको छ। जग्गा अधिग्रहणबाट पूर्ण रूपमा विस्थापित हुने 3 सय 5 घर परिवारलाई व्यवस्थित रूपमा स्थापित गर्ने 'पुन:स्थापीय' योजनासमेत आयोजनाले अघि सारेको छ।

अन्तर्राष्ट्रिय विमानस्थलका लागि 'डाइभर्सन' गरिएको घाघरा खोला दायाँबायाँ क्षेत्रमा पुन:स्थापना गराइनेछ। पुन:स्थापीय योजना अघि सारिएको स्थल स्थानीय क्षेत्रमा नयाँ खालको पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्ने गरी अघि बढाइएको छ। हाटीवनगाई चोकका स्थानीय सुखराम प्रजापतीले बोटबिरुवाको क्षतिपूर्ति दिइनु र विस्थापित परिवारलाई स्थानान्तरण गरिने स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना सकारात्मक भएको बताउनुभयो।

त्यस क्षेत्रमा 7 बिघा क्षेत्रफलको तलाउको किनारामा 2 बिघा जमिनमा भवन बनाइनेछ। सबै भवन एकै प्रकारका हुनेछन्।

जानकारी तथा लेखहरु