फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एकै दिन 107 आरोही सगरमाथा शिखरमा

(GMT+08:00) 2017-05-25 17:58:51

चालू सिजनमा सोमबार एकै दिन 1 सय 7 आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन्। बिगत पाँच दिनमा भएको आरोहणमध्ये सबैभन्दा धेरैले सोमबार आरोहण गर्न सफल भएको कारोबार अनलाइनले लेखेको छ।

गत साताबाट सुरु भएको आरोहणको क्रममा हालसम्म 2 सय 69 जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन्। जेठ 1 बाट सुरु भएको आरोहण मौसमका कारण तीन दिन रोकिएको थियो।

शनिवारदेखि पुनः आरोहण भइरहेको छ। जसमा शनिबार 40 आरोहीले सफल आरोहण गरेका थिए भने आइतबार 75 जनाले सगरमाथा आरोहण गरेका छन्।

पाँच दिनमा पौने तीन सयभन्दा बढीले आरोहण गरिसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। "पाँच दिनमध्ये सोमबार सबैभन्दा बढीले आरोहण गरेका छन् भने मंगलबार पनि एक सय हाराहारीले आरोहण गर्नेछन्," श्रेष्ठले भन्नुभयो। अब एक साताभित्र 4 सयभन्दा बढीले आरोहण गर्ने श्रेष्ठले बताउनुभयो।

यसवर्ष नेपाली र विदेशी गरेर 7 सयभन्दा बढी सगरमाथा आरोहणमा छन्। सोमबारसम्म पौने 3 सयले आरोहण गरेर र अब बाँकीले एक साताभित्र आरोहण गरेर फर्कने दावी श्रेष्ठले गर्नुभयो।

सगरमाथा आरोहणको मुख्य सिजनमा अब जेठको 15 गतेसम्म मात्र रहेको छ। दुई वर्ष अगाडि अनुमति लिएका तर भूकम्पले हिउँपहिरोका कारण आरोहण रोकिएकाले यस वर्ष उक्त अनुमति लिनेहरू पनि आरोहणमा आएकोले सगरमाथामा चाप रहेको नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले बताउनुभयो।

सोमबार सयभन्दा बढीले आरोहण गरेको र यसअघि सन् 2012 मा तिब्वत र नेपालतर्फ गरी एकैदिन 2 सय 55 जनाले आरोहण गरेको रेकर्ड रहेको शेर्पाले बताउनुभयो।

सन् 2014 र 2015 मा भएका ठूला दूर्घटनापछि आरोहण प्रभावित भएको थियो। ती दुई वर्ष आरोहण अनुमति लिएर पनि हिमाल चढ्न नपाएका आरोहीका लागि सरकारले आरोहण अनुमति सन् 2017 भरका लागि दिएको छ।

उक्त समयमा अनुमति लिनेहरू पनि यसवर्ष आरोहणका लागि आएका छन्। यस वर्ष अनुमतिबापत सरकारले 20 करोड रूपैयाँ हाराहारीमा राजस्व संकलन गरेको छ। प्रत्येक आरोहणमा जाने आरोहीले 11 हजार डलर दस्तुरमार्फत सरकारलाई राजस्व बुझाउने गरेका छन्।

चालू सिजनमा 25 हिमाल आरोहण गर्न 91 समूहका 7 सय 37 जनाले आरोहण अनुमति लिएका छन्। जसमा सगरमाथाको लागि मात्रै 42 समूहका 3 सय 73 जनाले आरोहण गर्न अनुमति लिएका छन्। गतवर्ष भने 98 समूहका 7 सय 45 जनाले आरोहणका लागि अनुमति लिएका थिए।

आरोहणको क्रममा यसवर्ष हालसम्म पाँच जनाले ज्यान गुमाइसकेका छन् भने एक भारतीय आरोही बेपत्ता भएका छन्। आइतबार अमेरिकी आरोही रोनाल्ड इयरउड र स्लोभाकियाका आरोही भ्लादिमिर स्ट्रबाको निधन भएको छ।

यस घटनासहित जारी सिजनमा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउने आरोहीको संख्या नेपालतर्फ चार पुगेको छ भने तिब्बततर्फ एकजनाको निधन भएको छ।

आइतबार तिब्बततर्फबाट सगरमाथा आरोहण गर्ने क्रममा एक अस्ट्रेलियाली आरोहीको निधन भएको छ। यसअघि सगरमाथाको क्याम्प टु हुँदै नुप्त्से हिमाल आरोहण गर्ने क्रममा चर्चित स्विस आरोही युली स्टेकको 17 वैशाखमा निधन भएको थियो।

सबैभन्दा वृद्ध उमेरमा सगरमाथाको सफल आरोहण गरी कीर्तिमान बनाउने लक्ष्यसहित त्यसतर्फ लागेका आरोही मीनबहादुर शेरचनको 23 वैशाखमा निधन भएको थियो। 86 वर्षीय उनको सगरमाथा आधार शिविरमै हृदयाघातका कारण निधन भएको थियो।

भारतीय आरोही रविकुमार शनिबारदेखि बेपत्ता छन्। पर्यटन विभागका अनुसार सगरमाथाको सफल आरोहण गरी आधार शिविर फर्कने क्रममा उनी बेपत्ता भएका हुन्।

जानकारी तथा लेखहरु