फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चितवनमा मात्र पोल्ट्रीमा 1 अर्ब रुपैयाँको लगानी

(GMT+08:00) 2017-05-25 18:00:41

चितवन पोल्ट्रीको राजधानीका रूपमा परिचित छ जुन क्षेत्रमा 35 अर्ब रुपैयाँ लगानी छ। 1 लाखदेखि 1 अर्ब लगानी गर्ने किसान जिल्लामा रहेको कान्तिपुर अनलाइनमा उल्लेख छ। यहाँ 75 वटा ह्याचरी उद्योग छन्। 16 लाख ब्रोइलर चल्ला उत्पादन हुन्छ। त्यस्तै लेयर्सको चल्ला प्रतिसाता 90 हजार र दैनिक 10 लाख गोटा अण्डा उत्पादन हुन्छ। सिंगो देशको गार्हस्थ उत्पादनमा चितवनको पोल्ट्रीले 1 दशमलव शून्य 5 प्रतिशत योगदान गर्छ। त्यस्तै केरा खेती र माछापालनमा किसानको आकर्षण बढदो छ।

मौरीपालन, तरकारी खेतीलाई व्यावसायिक बनाएर किसान आत्मनिर्भर बन्दै गएका छन्। मुख्य उत्पादनका रूपमा धान, गहुँ र मकै हुन्छ। त्यस्तै चितवन चिनाउने उत्पादनका रूपमा तोरी रहेको छ। यहाँको उत्पादनको मुख्य बजार काठमाडौं हो। 'चितवन सबै कुराका लागि उपयुक्त ठाउँ हो,' चितवन केरा उत्पादक संघका पूर्वअध्यक्ष लक्ष्मण सुवेदीले भन्नुभयो, 'त्यसमा पनि कृषि क्षेत्रमा चितवन अघि छ।'

जिल्लामा पर्यटनको प्रशस्त सम्भावना बोकेका क्षेत्र छन्। चितवन राष्ट्रिय निकुञ्जले गर्दा बर्सेनि आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्छन्। दुर्लभ एकसिंगे गैंडा, बाघ, भालु, मृग, हात्ती हेर्न पर्यटकको भीड लाग्छ। सौराहा, मेघौली र पटिहानीमा ठूलो लगानीमा होटल तथा रिसोर्ट सञ्चालन गरिएको छ। त्यस्तै जिल्लाकै कालिका नगरपालिकास्थित शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणको तयारी थालिएको छ। 2 हजार 5 सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण हुनेछ। प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारी नीतिअनुसार 3 नम्बरको शक्तिखोरमा बनाउन लागिएको हो। 6 महिनाभित्र डीपीआर गरी 4 वर्षभित्र काम सम्पन्न गर्ने योजना बनाइएको छ।

औद्योगिक क्षेत्र निर्माणसँगै उक्त क्षेत्र नजिकै रहेको करिब 5 सय बिघा जमिनमा प्राविधिक विश्वविद्यालयसमेत निर्माण हुनेछ। उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम मुलुकको मध्यभागमा रहेको चितवनमा औद्योगिक क्षेत्र आवश्यक रहेको बताउनुहुन्छ। 'औद्योगिक क्षेत्र निर्माण हुने कुराले खुसी छौं,' उहाँले भन्नुभयो, 'समयमै निर्माण पूरा होस्।' चितवन उद्योग संघ परिसरमा चितवन प्रदर्शनी केन्द्रको समेत शिलान्यास गरेर निर्माण थालिएको छ।

जिल्ला सदरमुकाममा जुनसुकै ठाउँ यातायात सुविधा पुगेको छ। सदरमुकाम क्षेत्रमा मेट्रो सिटी बस सञ्चालनमा आएकाले यात्रामा सास्ती भोग्नुपर्दैन। पर्यटक बसमार्फत सहजै काठमाडौं र पोखरा पुग्न सकिन्छ। महानगरपालिकाभित्र खानेपानी, बिजुली, क्यूएफएक्स फिल्म हल, एकभन्दा बढी बैंक र सुविधासम्पन्न होटल छन्। महानगर खाद्यान्न र तरकारी बिक्रीको केन्द्र पनि हो। मुलुकका प्रमुख नाका वीरगन्ज र भैरहवाबाट आयातित उपभोग्य वस्तु र सुविधाका सामान यहाँ भण्डारण गरिन्छ। स्थानीय उपभोक्तालाई ध्यानमा राखी चौधरी समूहले भरतपुर हाइटमा सुविधा सम्पन्न 'मल्टिप्लेक्स' निर्माण गरिरहेको छ। भाटभटेनी सुपर मार्केटले शाखा विस्तार गरेर सुविधा दिएको छ।

पहाडी गाउँमा समेत मोटरबाटो विस्तार गर्दै लगिएको छ। नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिको काम जारी छ। 2 अर्ब 90 करोड लागतको यो योजना पूरा भएपछि सडक 2 लेनको हुनेछ। 36 किमि निर्माण पूरा भएपछि 35 मिनेटमा मुग्लिन पुगिने आयोजनाको दाबी छ। चितवन 3 नम्बर प्रदेशमा पर्ने भएकाले अहिले ठोरी–केरुङ लोकमार्ग निर्माणको विषयले पनि चर्चा पाएको छ। भारतदेखि चीन जोड्ने सबैभन्दा छोटो दूरीको लोकमार्ग निर्माणका लागि स्थानीय व्यवसायीले दबाब दिँदै आएका छन्। 'चितवन भन्नेबित्तिकै प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा चिनिन्छ,' नारायणगढस्थित व्यवसायी चन्दन अग्रवालले भन्नुभयो, 'यस्तो सुन्दर ठाउँमा अहिले धेरै समस्या थपिएका छन्।'

उहाँका अनुसार खेतीयोग्य जमिन भएर पनि 90 प्रतिशत खाद्यान्न आयात हुने गरेको गुनासो सुनिन्छ। सबैभन्दा ठूलो समस्या अव्यवस्थित प्लटिङको छ। 'एक वर्षभन्दा बढी जग्गा बाँझो राख्नेलाई बढी कर लगाइयोस्,' उहाँले भन्नुभयो, 'महानगरपालिकालाई सुन्दर र समृद्ध बनाउन यस्ता कुरामा ध्यान दिन जरुरी छ।' अग्रवालले नारायणीमा मिसाइने ढल नियन्त्रण गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न माग गर्नुभयो। 'फोहोर व्यवस्थापन होस्, घरघरमा खानेपानी पुगोस्,' उहाँले भन्नुभयो, 'उजाड सहरलाई हरियाली बनाइयोस्।'

http://kantipur.ekantipur.com/news/2017-05-24/20170524085012.html

जानकारी तथा लेखहरु