फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँ उपत्यकमा 88 प्रतिशत पाइप बिछ्याइयो

(GMT+08:00) 2017-05-27 15:23:33
काठमाडौँ उपत्यकमा मेलम्ची खानेपानी आयोजनाले खानेपानीको पाइप बिछ्याउने काम 88 प्रतिशत सम्पन्न भएको दाबी गरेको छ। मेलम्ची खानेपानी विकास समितिअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार मुख्य र सहायक पाइप लाइन तथा खानेपानीको धारा जडान कार्य तीव्र रूपमा अघि बढिरहेको छ। 60.60 किमि मुख्य पाइपमध्ये 45 किमि र 6 सय 60 किमि सहायकमध्ये 5 सय 55 किमि पाइप विछ्याउने काम सम्पन्न भइसकेको जानकारी आयोजनाले दिएको कान्तिपुर अनलाइनले लेखेको छ।

निर्देशनालयका प्रमुख त्रिरेशप्रसाद खत्रीले असोजअघि नै सबै काम सम्पन्न हुने दाबी गर्नुभयो। 'मुख्य पाइप प्रणाली असारमा र सहायक पाइप असोजसम्ममा बिछ्याउने काम सम्पन्न गर्छौँ, हाल पुन:स्थापनाको काम बढी ध्यान केन्द्रित भएकाले पाइप बिछ्याउने काममा केही ढिलाइ भएको छ,' उहाँले भन्नुभयो, 'केही दिनभित्रै दोस्रो चरणको कामको प्रक्रिया अघि बढ्छ।' मेलम्ची खानेपानीको सुरुङपछि दोस्रो ठूलो पाइप बिछ्याउने काम मानिन्छ। यही अनुपातमा काम भए पहिलो चरणको काम आगामी भदौ अन्तिमसम्ममा सकिने दाबी उहाँले गर्नुभयो।

80 हजार खानेपानीको धारामध्ये 38 हजारभन्दा बढी जडान भइसकेको उहाँले बताउनुभयो। कुल 83 हजार 7 सय 73 घरधुरीमा खानेपानीको धारा जडान गरिनेछ। 9 वटा पानी पोखरीमध्ये 4 वटाको अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाको दाबी छ। पोखरीमा 6 करोड 50 लाख लिटर पानी भण्डारण गरिने उहाँले बताउनुभयो।

आरुबारी, कीर्तिपुर, टिगनी, कटुन्जे, खुमलटार, बाँसबारी, महांकाल चौर, बालाजुमा र लाजिम्पाटमा पानीपोखरीको निर्माण गरिनेछ। खुमलटार, बाँसबारी, महांकाल चौर र बालाजुमा पानीपोखरीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। महाराजगन्जस्थित पानीपोखरी र आरुबारीको पानी पोखरी निर्माणाधीन रहेको उहाँले बताउनुभयो। आरुबारीमा 8 हजार 5 सय, महांकाल चौरमा 8 हजार, बाँसबारीमा 9 हजार 5 सय, लाजिम्पाटस्थित पानीपोखरीमा 7 हजार 5 सय, खुमलटारमा 9 हजार 5 सय, बालाजुमा 7 हजार, कीर्तिपुरमा 6 हजार, टिगनीमा 3 हजार र कटुन्जेमा 6 हजार घनमिटर पानी जम्मा गरिनेछ। ती पानी पोखरीबाट उपत्यकामा समानुपातिक हिसाबले प्रत्येक खानेपानीको धारामा पानी वितरण गरिने खत्रीले बताउनुभयो। पानी पोखरीबाट मुख्य पाइप र त्यसपछि सहायक पाइपमा पानी पठाइने उहाँले बताउनुभयो। सहायक पाइप लाइनबाट सामानुपातिक प्रणालीबाट प्रत्येक घरमा पानी वितरण गरिनेछ। 'कुनै धारामा थोरै, कसैमा धेरै पानी वितरण हुँदैन,' उहाँले भन्नुभयो, 'अत्याधुनिक प्रविधिद्वारा पानी वितरण गरिन्छ।'

रिङरोडभित्रका लागि 6 र बाहिरका लागि 3 वटा पानी पोखरी निर्माण हुनेछन्। रिङरोडभित्रका लागि आरुबारी, महांकाल चौर, बाँसबारी, बालाजु, पानीपोखरी र खुमलटारमा तथा बाहिरका लागि कोडकु, सल्लाघारी र धोबीघाट पोखरी निर्माण गरिनेछ। पहिलो चरणमा रिङरोडभित्र, दोस्रो चरणमा कीर्तिपुर, भक्तपुरको टिंगनी र कटुन्जेलगायत स्थानमा पानी वितरण गरिनेछ।

जानकारी तथा लेखहरु