फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

40.27 मेगावाटको सुपर न्यादी निर्माण गरिने

(GMT+08:00) 2017-06-05 16:22:40

       लमजुङको मर्स्याङ्दी गाउँपालिका अन्तर्गत बाहुनडाँडा नजिकैको ङादी खोलामा 40.27 मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको निर्माण गरिने भएको छ। प्रवद्र्धक कम्पनी सिउरी न्यादी पावर प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच शुक्रबार विद्युत् खरिद सम्झौता (पीपीए) भएपछि आयोजना निर्माणको बाटो खुलेको कारोबार अनलाइनले लेखेको छ।

         5 मेगावाटको सिउरीको निर्माण सम्पन्न गरेको प्रवद्र्धक कम्पनीले सोही करिडोरमा अर्को आयोजना पनि निर्माण गर्न लागेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र गुरागाईंका अनुसार आगामी 2 महिनाभित्र आयोजनाको वित्तीय व्यवस्थापन र त्यसको 4 महिनामा आयोजना निर्माणमा जानेछौं। "हामीसँग 5 मेगावाटको सिउरी बनाएको अनुभव छ।" उहाँ भन्नुहुन्छ, "सोही करिडोरको ङादी खोलामा आयोजना निर्माणको तयारी थालेका छौं।"

         प्रवद्र्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच आयोजनाको वर्षातको 6 महिना प्रतियुनिट 4.80 रुपैयाँ र हिउँदको 6 महिना 8.40 रुपैयाँमा विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ। आयोजनाले विद्युत् उत्पादनपछि 8 वर्षसम्म वार्षिक 3 प्रतिशतका दरले मूल्य वृद्धि पाउनेछ।

          प्रवद्र्धक कम्पनीले साविकको बाहुनडाँडा गाविस– 1 मा 6.8 घनमिटर प्रतिसेकेण्ड पानीलाई 30 मिटर लामो र 3 मिटर उचाइको बाँध बाँधी बालुवा थिग्रयाउने र पोखरीमा ल्याउने योजना बनाएको छ।

           आयोजनाको बाँधक्षेत्रबाट सुरुङमार्फत गएको पानीलाई बाहुनडाँडाको काफलडाँडामा निर्माण गरिने सर्ज ट्यांक हुँदै पेनस्टक पाइपमार्फत तालकुनामा निर्माण गरिने विद्युत् गृहमा खसालिने छ। "आयोजनामा 697.7 मिटर उचाइबाट पानी खसालिने छ।" गुरागाईँले भन्नुभयो, "आयोजनाबाट तोकिएको विद्युत् उत्पादन हुनेछ।"

          कम्पनीका प्रमुख कार्यकारी अधिकृतका अनुसार 5 वर्षमा निर्माण पूरा गर्ने लक्ष्य छ। प्रवद्र्धक कम्पनीले विद्युत्गृहमा 22 मेगावाटका 2 वटा टर्बाइन जडान हुने जनाएको छ। कम्पनीका अनुसार कुल 6 अर्ब 76 करोड 20 लाख रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाबाट वार्षिक रूपमा 235.76 गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ।

         आयोजनाबाट उत्पादित विद्युत् आयोजनास्थल बाहुनडाँडादेखि 11 किमि दूरीको टारीकुनास्थित 132 केभी सबस्टेसनमा जोडिनेछ। उक्त सबस्टेसनसम्मको प्रसारणलाइन प्रवद्र्धक कम्पनी आफैँले निर्माण गर्ने जनाएको छ।

          लमजुङमा 54 मेगावाटको सुपर दोर्दी–ख, 27 मेगावाटको दोर्दी, 25 मेगावाटको माथिल्लो दोर्दी–ए, 3 मेगावाटको मिदिम–करापु र 30 मेगावाटको ङादी खोला निर्माणाधीन अवस्थामा छन्।

जानकारी तथा लेखहरु