फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

98 प्रतिशत वयष्कको बैंक खाता

(GMT+08:00) 2017-06-06 16:17:44

नेपालका करिब 98 प्रतिशत वयष्कको बैंक खाता रहेको सरकारी तथ्यांकले देखाएको छ। अझै पनि अधिकांश ग्रामीण भेगमा वित्तीय पहुँच (बैंकिङ सेवा) पुर्‍याउन नसकेको आरोप लागिरहेको समयमा सरकारको यस्तो तथ्यांक बाहिर आएको कान्तिपुर अनलाइनले लेखेको छ। गत आइतबार सार्वजनिक आर्थिक वर्ष 073/74 को आर्थिक सर्वेक्षणमा प्रति एक हजार वयष्क जनसंख्यामा 9 सय 83 जनाको बैंक खाता रहेको उल्लेख छ। यो करिब 98.3 प्रतिशत हुन आउँछ। यसको अर्थ वयष्क जनसंख्याको 98 प्रतिशतकै बैंक खाता छ भन्ने नभएको सरकारी अधिकारीहरू बताउँछन्। हाल एकै व्यक्तिले एकभन्दा बढी खाता खोल्न सक्छन् र खोलेका पनि छन्। यसकारण बैंक खाताको संख्या बढी भएको अर्थ मन्त्रालयको भनाइ छ। यसरी खुलेका बैंक खातालाई वयष्कको संख्यासँग अनुपात निकाल्दा करिब 98 प्रतिशतको बैंक खाता रहेको देखिन्छ।

तथ्यांकमा अधिकांश वयष्कको बैंक खाता रहेको देखिए पनि वास्तविक रूपमा त्यसो नभएको आर्थिक सर्वेक्षण लेखनमा संलग्न अर्थ मन्त्रालयका सहसचिव लक्ष्मण अर्यालले बताउनुभयो। 'हामीले तथ्यांकले देखाएको कुरा बाहिर ल्याएका हौं,' उहाँले भन्नुभयो, 'एकै व्यक्तिले एकभन्दा बढी खाता खोल्न सक्ने भएकाले त्यस्तो देखिएको हुन सक्छ।' यथार्थमा वित्तीय पहुँच र वित्तीय साक्षरतामा मुलुक निकै पछि रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, 'वित्तीय पहुँच र साक्षरतामा मुलुकको अवस्था दर्दनाक छ, ती सूचकमा सुधार गर्न ठूलै पहल आवश्यक छ।'

सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्था सहर केन्द्रित भएकै कारण ग्रामीण भेगमा अपेक्षित रूपमा वित्तीय पहुँच विस्तार हुन सकेको छैन। सहर बजारमा वित्तीय संस्थाहरूले एटीएमलगायत विभिन्न किसिमका आधुनिक बैंकिङ सेवाहरू प्रदान गरिरहेका छन्। यसकारण बैंक तथा वित्तीय संस्थामा युवाहरूको खाता संख्या धेरै देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताउनुभयो। 'एटीएमलगायत अन्य आधुनिक बैंकिङले युवाहरूलाई आकर्षित गरेको देखिन्छ,' उहाँले भन्नुभयो, 'रेमिट्यान्स प्राप्ति र बैंकिङ बानीको विकासले पनि बैंक खाताको संख्या बढेको हुन सक्छ।' पछिल्ला वर्षहरूमा मोफसलका सहरी केन्द्रहरूमा शाखा खोल्ने क्रम बढेकाले वयष्कहरू बैंकिङ कारोबारमा आकर्षित भएको उहाँले जनाउनुभयो। बहुबैकिङ लगायत कारण निक्षेप खाता संख्या धेरै देखिएपनि वित्तीय पहुँच र समावेशी वित्तीय विकासका हिसाबले मुलुक निकै पछि रहेको थापाको भनाइ छ।

सर्वेक्षणमा वयष्क जनसंख्या भन्नाले 16 वर्ष देखि 64 वर्ष सम्मका नागरिकलाई समेटिएको छ। आर्थिक वर्ष 073/74 मा मुलुकको कुल जनसंख्या 2 करोड 88 लाख 25 हजार 7 सय 9 रहने केन्द्रीय तथ्यांक विभागको अनुमान छ। उक्त जनसंख्यामध्ये वयष्कको हिस्सा 64.25 प्रतिशत रहेको विभागको तथ्यांक छ। यसका आधारमा आर्थिक वर्ष 073/74 मा वयष्क जनसंख्या 1 करोड 85 लाख 20 हजार 5 सय 18 जना रहने देखिन्छ। उक्त जनसंख्यालाई आधार मानेर प्रति एक हजार वयष्कमा 9 सय 83 जनाको बैंक खाता रहेको सर्वेक्षणमा उल्लेख छ। आर्थिक वर्ष 072/73 मा प्रति एकहजार जनसंख्या बराबर 9 सय 29 वटा बैंक खाता थियो।

मुलुकमा करिब 40 प्रतिशत जनसंख्याले मात्र औपचारिक बैकिङ सुविधा पाउँदै आएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ। सहकारीलगायत अन्य संघसंस्थाबाट 21 प्रतिशतले सेवा लिएका छन्। बाँकी 39 प्रतिशतमा औपचारिक रूपमा कुनै पनि वित्तीय पहुँच नपुगेको अध्ययनले देखाएको छ। तर, वयष्कहरूमा वित्तीय पहुँचको अवस्था हेर्दा तुलनात्मक रूपमा राम्रो देखिएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण लेखनमा संलग्न राष्ट्र बैंकका उप निर्देशन बिरेन्द्र बुढाले बताउनुभयो। विश्वका विकसित राष्ट्रहरूको तुलनामा नेपाली वयष्कहरूमा वित्तीय पहुँचको अवस्था कम भएपनि मध्यम आय भएका, अतिकम आय भएका र दक्षिण एसियाका अन्य राष्ट्रहरूको तुलनामा बढी रहेको उहाँले बताउनुभयो।

विश्व बैकको अनुसार सन् 2016 मा युरोपियन राष्ट्रहरूमा प्रति एक हजार वयष्कमा 1 हजार 3 सय 57, उच्च आय भएका राष्ट्रहरूमा प्रति एक हजारमा 1 हजार 81, मध्यम आय भएका राष्ट्रमा 6 सय 48 र अतिकम आय भएका राष्ट्रहरूमा 88 वटा बैंक खाता रहेका छन। सोही अवधिमा दक्षिण एसियाका अन्य राष्ट्रहरूमा प्रति एक हजारमा वयष्कमा 4 सय 43 बैंक खाता रहेको विश्बैकको तथ्यांक छ। वयष्क जनसंख्यामा निक्षेप खाता, एटिएम र बैंक शाखालाई वित्तीय पहुँच विस्तारमा प्रमुख परिसूचकका रूपमा लिइन्छ।

http://kantipur.ekantipur.com/news/2017-06-06/20170605204709.html

जानकारी तथा लेखहरु