फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शेरबहादुर देउवा नेपालका नयाँ प्रधानमन्त्रीमा निर्वाचित

(GMT+08:00) 2017-06-06 18:23:50

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको छ। आज मंगलबार बसेको संसदको बैठकले देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो।

संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो एक बस्ने भनिएको बैठक केही ढिला सुरु भएको थियो। संसदको बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गर्नु भएको थियो। त्यसपछि बसेको संसदको दोस्रो बैठकले देउवालाई प्रधानमन्त्रीमा निर्वाचन गरेको हो। नेपालको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गणतन्त्र स्थापनापछिको दशौं तथा नेपालको 40 औं प्रधानमन्त्रीका रुपमा निर्वाचित हुनु भएको छ।

हिजो सोमबार साँझ सभामुख ओनसरी घर्ती मगरसहित बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा भएको चार बुँदे सहमतिपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदको अबरोध हटाउन तयार भएपछि आज मंगलबार संसदले नेयाँ प्रधानमन्त्री चुनेको हो।

गत आइतबार नै प्रधानमन्त्रीको निर्वाचन हुने कार्यतालिका रहेपनि भरतपुर महानगरपालिकामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय अस्वीकार गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिने बताएपछि प्रमुख दलहरुकै सहमतिमा सभामुखले आज मंगलबार एक बजे बस्ने सूचना टाँस गरी बैठक स्थगित गर्नु भएको थियो।

शेरबहादुर देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी, नेकपा संयुक्त लगायतका गरी झन्डै दुई तिहाई सांसदको समर्थन प्राप्त भएको छ।

शेरबहादुर देउवाको विपक्षमा नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले मतदान गरेका छन्।

जानकारी तथा लेखहरु