फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टोखा-थानसिङ सुरुङमार्ग तीन वर्षमा निर्माण गरिने

(GMT+08:00) 2017-06-07 16:09:57

काठमाडौं उपत्यकालाई कम समय तथा दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित राजधानीको टोखादेखि नुवाकोटको थानसिंङ फाँटसम्म सुरुङमार्ग निर्माण सम्भव रहेको निष्कर्षसहित अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरिएको छ। सवा चार किलोमिटर दूरीको सुरुङमार्ग काठमाडौंदेखि अन्न उत्पादनको भण्डारका रूपमा रहेको नुवाकोटको थानसिङसम्म निर्माण सम्भव रहेको निष्कर्षसहित सडक विभाग, वैदेशिक महाशाखाले अर्थ मन्त्रालयमा सिफारिस गरी पठाएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

टोखा-थानसिङ सुरुङमार्ग निर्माण आयोजना रहने र निर्माण सुरु गरिएको तीन वर्षमा सबै काम सम्पन्न हुने लक्ष्य रहेको सडक विभाग, वैदेशिक महाशाखाका प्रमुख सञ्जय श्रेष्ठले जानकारी दिनुभयो।'फाइल स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पुगेको छ', उहाँले भन्नुभयो,'मन्त्री वा सचिवले तोक लगाएपछि काम सुरु हुन्छ।'

सुरुङमार्गको अध्ययन तथा प्रतिवेदन तयार भइसकेको छ। काठमाडौं-रसुवागढी-केरुङ जोड्ने सडकमार्गअन्तर्गत टोखादेखि नुवाकोटको थानसिङ फाँटसम्म 26 अर्ब रुपैयाँ लागतमा सुरुङमार्ग निर्माण तयारी भइरहेको छ। त्यसका लागि अध्ययन कार्य पूरा भइसकेको महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो। सवा चार किलोमिटर सुरुङमार्ग र गल्छी-रसुवागढी जोड्ने सडकसम्म पुग्न 34 किमि सडकसमेत निर्माण गरिने उक्त अध्ययनमा जनाइएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्तावित टोखा-थानसिङ सुरुङमार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गरेको थियो। सडक विभागले अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाइसकेको छ। अध्ययन अनुसार शिवपुरी डाँडा छेडेर टोखाबाट नुवाकोटको थानसिङ फाँटसम्म पुग्ने सुरुङमार्गको निर्माण गरिनेछ।

टोखादेखि नुवाकोटको थानसिङ फाँटसम्म सवा चार किलोमिटर रहेको उक्त सुरुङमार्ग निर्माण लगानीका लागि सरकारले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकलाई प्रस्ताव पेस गरिसकेको छ। प्रस्तावअनुसार सरकारले आफ्नै लगानीमा उक्त सुरुङमार्गको निर्माण गर्ने कि वैदेशिक सहायतामा गर्ने भन्ने विषयमा समेत मन्त्रालयस्तरीय छलफल भइरहेको श्रेष्ठले जानकारी दिनुभयो।

सुरुङमार्ग निर्माणपछि साढे दुई घन्टामै राजधानीदेखि चीनको सिमाना केरुङसम्म पुग्न सकिनेछ। सुरुङमार्ग निर्माणपछि थानसिङ फाँटमा स्याटेलाइट सिटी निर्माण गर्ने योजनासमेत सरकारको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले सो सुरुङमार्ग निर्माणका लागि ऋण सहयोग गर्न तयार भए छिट्टै नै निर्माण प्रक्रिया अगाडि बढाइने जनाएको छ।'टोखा-थानसिङ सुरुङमार्गको आवश्यकता पहिलेदेखिकै हो', नुवाकोट उद्योग वाणिज्य संघका महासचिव दीपक कायस्थले भन्नुभयो,'यसको निर्माणपछि नुवाकोटबासीको आर्थिकस्तरमा समेत निकै परिवर्तन हुनेछ।'

http://annapurnapost.com/news/72585

जानकारी तथा लेखहरु