फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटनबाट नेपालमा गत आर्थिक वर्षमा करिब रु 42 अर्ब आम्दानी

(GMT+08:00) 2017-06-07 16:11:20

नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट गत आर्थिक वर्ष करिब रु 42 अर्ब रुपैयाँको आम्दानी भएको छ। नेपाल सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2073/74 का अनुसार आव 2072/73 मा पर्यटन क्षेत्रबाट रु 41 अर्ब 76 करोड 50 लाख बराबरको विदेशी मुद्रा आर्जन भएको राष्ट्रिय समाचार समितिले लेखेको छ। यो आर्जन विदेशी मुद्राको अनुपातमा 55 लशमलव आठ प्रतिशत, कुल वस्तु निर्यात तथा सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा 19 दशमलव छ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको अनुपातमा 1 दशमलव 9 प्रतिशत हो।

चालु आवको प्रथम आठ महिनामा पर्यटन क्षेत्रबाट रु 36 अर्ब 19 करोड 90 लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ। यो आर्जन विदेशी मुद्राको अनुपातमा 66 दशमलव 8 प्रतिशत र कुल वस्तु निर्यात एवम् सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा 23 दशमलव 3 प्रतिशत रहेको छ।

सन् 2016 मा करिब 40 प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ। उक्त अवधिमा सात लाख 53 हजार दुई पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् 2015 मा पाँच लाख 38 हजार 970 पर्यटक आएका थिए। कुल पर्यटक आगमनको सङ्ख्यालाई देशगत रुपमा विश्लेषण गर्दा सन् 2016 मा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुकमध्ये भारत (15 दशमलव 7) प्रतिशतले अगाडि छ। अन्य देशहरु क्रमशः चीन (13 दशमलव 8), श्रीलङ्का (7 दशमलव 6), अमेरिका (7) र बेलायत (6 दशमलव एक) रहेका छन्। यी देशबाट आएका पर्यटकले कुल पर्यटकको 50 प्रतिशतभन्दा बढी अंश ओगटेको पाइन्छ।

सन् 2015 मा बढी पर्यटक आउने मुलुकमा क्रमशः भारत (14), चीन (12), अमेरिका (10), श्रीलङ्का (8) र थाइल्यान्ड (6) प्रतिशत रहेको छ।

रासस

जानकारी तथा लेखहरु