फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुर्खेतदेखि चीन जोडिने पञ्चकोशी सडक निर्माणको तयारी

(GMT+08:00) 2017-06-08 16:54:18

सुर्खेतदेखि चीन जोडिने पञ्चकोशी सडक निर्माण गरिने भएको छ। सडकले दैलेख सदरमुकाम, महावु–जुम्ला, रारा ताल हुँदै चीनको नाँक्चे नाग्लासम्म जोड्नेछ। 'यो वर्ष अध्ययनका लागि रकम विनियोजन गरिएको छ र 'अध्ययन प्रतिवेदनपश्चात् थप रकम विनियोजनसँगै काम सञ्चालन हुने अर्थ मन्त्रालयका सल्लाहकार डा. पूण्यप्रसाद रेग्मीले,बताउनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

पञ्चकोशी क्षेत्रको नामबाट दैलेख परिचित भएकाले उक्त सडकको नामै पञ्चकोशी राजमार्ग राखिएको उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, 'बजेटमा व्यवस्था गरेर रकम विनियोजनसँगै काम सुरु हुन्छ।'

पञ्चकोशी राजमार्गले सुर्खेतको देउती बज्यै, दैलेखको कोटिला, शिरिस्थान, नाभिस्थान, पञ्चिस देवल, महावु धाम, जुम्लाको चन्दननाथ, मुगुको रारा हुँदै मानसरोवरसम्म पहुँच स्थापित गर्नेछ। साथै, चीनसँगको सम्बन्ध विस्तारका लागि सडकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ।

दैलेख भ्रमणमा आइपुगेका डा. रेग्मीले स्थानीय प्राचीन कोटिला मन्दिरमा ताल निर्माणको काम यसै वर्ष सुरु हुने जानकारी पनि दिनुभयो।

त्यस्तै, दैलेख सदरमुकामभित्र रहेका ऐतिहासिक कोतगडी र पञ्चदेवलको विकासका लागि पनि सरकारले रकम विनियोजन गरेको छ। यसअन्तर्गत विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि सिफारिस भएको पञ्चिस देवलसम्म सहज आवतजावतका लागि गणेशचोक हुँदै भुर्ती पञ्चदेवल, पिउसेसम्म सडकले जोडिने भएको छ।

दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष शान्तिप्रसाद शर्माले दैलेख सदरमुकामको भाग्य र भविष्य निर्धारणमा पञ्चकोशी राजमार्गले निकै महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। 'यो सडकले जुम्ला, कालिकोटको आधा भूभागसित पनि हाम्रो सम्बन्ध राख्नेछ' उहाँले भन्नुभयो।

रासस

जानकारी तथा लेखहरु