फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'असार १४ को चुनाव अब सर्दैन'

(GMT+08:00) 2017-06-13 15:12:31

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको दोस्रो चरणको चुनाव असार १४ गतेबाट नसर्ने स्पष्ट पार्नुभएको छ। सबै राजनीतिक दललाई चुनावमा समेट्न यसअघि पटकपटक चुनाव सारे पनि योपटक भने नसर्ने दाबी गर्दै उहाँले राजनीतिक दल र सांसदलाई जनताका घरदैलोमा जान आग्रह गर्नुभएको छ।

प्रदेश नम्बर १ र २ का केही जिल्लाको भ्रमण गरेर सोमबार काठमाडौँ फर्कनुभएपछि पत्रकारसँग कुरा गर्दै डा. यादवले अब निर्वाचन सारेमा ठूलो गल्ती हुनेछ भन्दै निर्वाचन सार्नुपर्ने कुनै व्यवस्थापकीय, कानुनी, संवैधानिक कारण नभउकोले अब यो सर्दैन र सार्न पनि नहुने बताउनुभयो। संविधानको स्वीकार्यतालाई दृष्टिगत गरी राजनीतिक वातावरण बनाउन यसअघि मिति सारिए पनि असार १४ गतेको मिति अन्तिम भएको उहाँले स्पष्ट पार्नुभएको गोरखापत्रअनलाइनले लेखेको छ।

निर्वाचनको मिति सार्नु भनेको आफैँमा अप्रजातान्त्रिक भए पनि लोकतन्त्रका लागि दलबीच सहमति कायम गर्ने सन्दर्भमा विगतमा आयोग लचिलो भएको जानकारी दिनुहुँदै प्रमुख आयुक्त यादवले निर्वाचनमा सबै दलको सहभागिता होस् भन्नका लागि छोटो समयमा कानुन संशोधन गरिएको पक्षलाई हेक्का राख्न पनि नेताहरूलाई अनुरोध गर्नुभयो।

दलका नेता र सांसद मतदाताको बीचमा पुगेर प्रचारप्रसारमा जुट्न आवश्यक रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त यादवले दोस्रो चरणको निर्वाचन हुने प्रदेशका जिल्लामा सरकारले बनाएको सुरक्षा व्यवस्था राम्रो रहेको जानकारी दिनुभयो।

प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता र राजनीतिक दलले मतगणना छिटो सम्पन्न गर्न, मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउन, शान्तिसुरक्षाको उचित प्रबन्ध मिलाउन आफूलाई सुझाव दिएको जानकारी दिनुभयो।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल लगायतका आन्दोलनरत राजनीतिक दललाई आफ्ना विरोधका कार्यक्रम शान्तिपूर्ण बनाउन आग्रह गर्दै उहाँले मतदाताको उम्मेदवार हुन पाउने र निर्वाचनको प्रचारप्रसार गर्ने नागरिक अधिकारलाई कुण्ठित नगर्न पनि अनुरोध गर्नुभयो। आन्दोलन गर्ने लोकतान्त्रिक अधिकार भए पनि निर्वाचनको माध्यमबाटै विद्यमान सबै खाले समस्या समाधान हुने विश्वास उहाँले राख्नुभयो।

राजनीतिक दलले उम्मेदवार छनोट गर्ने, सम्भावित उम्मेदवार निर्वाचनको प्रचारप्रसारमा जुटिरहेको बताउँदै डा. यादवले उम्मेदवारी दर्तापछि सघन रूपमा उम्मेदवार मतदातामा जाने हुँदा त्यसपछि चुनावको राम्रो वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो।

राजनीतिक दल, उम्मेदवार र आममतदातामा तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ भन्नेमा सबैको एउटै स्वर र अभिमत रहनु सकारात्मक पक्ष भएको बताउँदै उहाँले पहिलो चरणको जस्तै दोस्रो चरणको निर्वाचनमा मतदातामा उत्साह, व्यापक सहभागिता र समर्थन हुने विश्वास व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु