फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेइजिङमा नेपाल पर्यटन प्रवर्द्धन

(GMT+08:00) 2017-06-14 18:16:25

बेइजिङमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। बेइजिङस्थित नेपाली दूताबास, नेपाल पर्यटन बोर्ड र नेपाली टुर्स एण्ड ट्राभल एसोसिएसन नाटाले यो कार्यक्रम संयुक्त रुपमा आयोजना गरेका हुन्।

कार्यक्रममा भाग लिनका लागि नेपालका विभिन्न पर्यटन व्यवसायी कम्पनीका 32 जना प्रतिनिधिहरु चीनमा आएका छन्। यसभन्दा अगाडि क्वाङचौ, छन्दू, हाङचौ लगायतका सहरमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भइसकेका छन्।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले चिनियाँ पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य स्थल रहेको बताउनुभयो। चिनियाँ पर्यटकले नेपाल किन घुम्नुपर्छ भन्ने कुरालाई तथ्यगत रुपमा पुष्टि गर्दै तीस करोडभन्दा बढी चिनियाँले बुद्ध धर्ममा विश्वास गर्ने भएको र नेपाल बुद्धको जन्मभूमि भएकाले दुई देशबीचमा सांस्कृतिक सम्बन्ध रहेको उहाँले बताउनु भयो। हिमाली शृङ्खला, प्याराग्लाइडिङ, ट्रेकिङ, र्‍याफ्टिङ जस्ता पर्यटकले मन पराउने साहसिक पर्यटन खेलका लागि नेपाल विश्वमै ख्यातिप्राप्त देश रहेको उहाँले बताउनुभयो। नेपाल र चीन छिमेकी मित्रराष्ट्र रहेको र नेपालमा चिनियाँ पर्यटकको पूर्ण सुरक्षा र सम्मान हुने हुनाले सस्तोमा चिनियाँ पर्यटकले नेपालको भ्रमण गर्न सक्ने कुरामा उहाँले जोड दिनुभयो।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनील शर्माले नेपालको पर्यटन सम्बन्धि सामग्रीको श्रव्यदृश्य सामग्री प्रदर्शन गर्नु भएको थियो। यसैगरी नाटाका सभापति मधुसुदन आचार्यले नेपालमा चिनियाँ पर्यटकको संभावना र महत्वका बारेमा बोल्नु भएको थियो। उहाँले नेपाली पर्यटन उद्योगमा चिनियाँ पर्यटकले मेरुदण्डको काम गरिरहेको बताउनुभयो।

सो कार्यक्रममा चिनियाँ वाणिज्य मन्त्रालयको पर्यटन विभाग हेर्ने अधिकारी र केही चिनियाँ पर्यटन व्यवसायीले पनि आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रममा चिनियाँ सहभागीले केही जिज्ञासा राखेका थिए भने नेपाली अधिकारीले त्यसको जवाफ दिएका थिए। कार्यक्रममा चिनियाँ र नेपाली व्यवसायीबीचमा बी टु बी छलफल पनि भएको छ।

जानकारी तथा लेखहरु