फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारतका राजदूतद्वारा नेपालका प्रधानमन्त्रीसँग भेटवार्ता

(GMT+08:00) 2017-06-17 15:01:44

प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार भारतीय राजदूत मन्जिभसिंह पुरी र चिनियाँ राजदूत यु होङले सिंहदरबारमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ। देउवा प्रधानमन्त्री भएपछि तत्काल शुभकामना दिन निवास पुगेपनि उहाँहरूको यो पहिलो औपचारिक शिष्टाचार भेट थियो। प्रधानमन्त्रीसँग भेटका क्रममा दुवै राजदूतले आ–आफ्नो मुलुकको औपचारिक भ्रमणबारे छलफल गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

चिनियाँ राजदूत युले देउवासँग चीन भ्रमणबारे कुराकानी गर्नुभयो। देउवालाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीन भ्रमणको निम्ता गरिसकेको जानकारी यूले दिनुभयो। भारत भ्रमणपछि देउवाले चीन भ्रमण गर्नसक्ने बताइएको छ।

देउवाको चीन भ्रमणमा दुई देशबीच यसअघि भएका सम्झौता अघि बढाउन त्यसको प्रोटोकल तय गर्नेदेखि विभिन्न विषयमा तहगत संरचनात्मक छलफल हुनेसमेत बताइएको छ। गोरखापत्र अनलाइनका अनुसार नेपाल र चीनबीच रोकिएका दुईपक्षीय संयन्त्र बैठक अघि बढाउने, तातोपानी नाका खुलाउने, विकासमा लगानी गर्ने, रिङरोड निर्माण कार्यलाई तीव्रता दिनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

इकान्तिपुरका अनुसार प्रधानमन्त्री र राजदूत पुरीबीच पछिल्लो राजनीतिक अवस्था, निर्वाचन, तराईको समस्या र विकास प्रक्रियालगायतमा छलफल भएको छ। देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले यसअघि नै दिइसकेको दिल्ली यात्राको निमन्त्रणाबारे छलफल भएको परराष्ट्र अधिकारीले जनाएका छन्।

जानकारी तथा लेखहरु