फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँलाई चीनसँग सडक सञ्जालले जोड्ने सबैभन्दा छोटो मार्ग काठमाडौँ–रसुवागढी छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने

(GMT+08:00) 2017-06-18 14:39:55

काठमाडौँलाई चीनसँग सडक सञ्जालले जोड्ने सबैभन्दा छोटो मार्ग काठमाडौँ–रसुवागढी सडक (१२२ किमी पूर्ण रुपमा छिट्टै सञ्चालनमा आउने भएको छ।

उच्च रणनीतिक महत्वको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमध्ये मैलुङ–स्याफ्रुबेँसी सडक (१७ किलोमिटर) को ट्र्याक खोल्ने काम नेपाली सेनाले यही असारको अन्तिम सातासम्ममा पूरा गर्दैछ। ट्र्याक खुलेपछि नेपाल चीनसँग छोटो दूरीको सडक सञ्जालले जोडिने छ। बहुचर्चित एवम् बहुप्रतिक्षित सो मार्ग पूर्ण रुपमा सञ्चालनमा आएपछि काठमाडौँदेखि चीनको केरुङसम्म करिब चार घण्टामा पुग्न सकिन्छ।

नेपाली सेना, विकास निर्माण निर्देशनालयका निर्देशक सहायक रथी उद्धव विष्टले मैलुङ–स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । सरकारले सेनालाई सुम्पिएको समयसीमाभित्रै सो सडकको ट्र्याक खुलाउने काम सम्पन्न हुन लागेको हो । सो सडक नौ मिटर फराकिलो र डबल लेनको हुनेछ र त्यसमा एउटा पनि घुम्ती हुने छैन। सो सडकखण्डअन्तर्गत पहिलो चरणमा सात किलोमिटर तत्कालीन अर्थमन्त्री डा रामशरण महत, राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष प्रा डा गोविन्द पोखरेल र नेपाली सेनाका तत्कालीन प्रधानसेनापति गौरवशम्शेर जबराले विसं २०७१ माघ ९ गते संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो। मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण सम्पन्न भएपछि गल्छीदेखि रसुवागढीसम्मको दूरी ८४ किलोमिटर मात्र हुने गोरखापत्र अनलाइनले जनाएको छ।

अर्कातर्फ गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डलाई पनि छोटो बनाउने छ। यसको निर्माणले बेत्रावतीबाट राम्चे हुँदै धुन्चे नगई सिधै मैलुङ हुँदै स्यापु्रmबेँसी पुग्न सकिने छ।

व्यवस्थापिका संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले उत्तर–दक्षिण जोड्ने 'लाइफ लाइन'का रुपमा रहेका काठमाडौँ–रसुवागढी रणनीतिक सडकको निर्माण कार्य छिटो भन्दा छिटो सम्पन्न गरेर यसको पूर्ण सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले नेपाली सेनाले मैलुङ–स्याफ्रुबेँसी सडकको ट्र्याक खुलाउन गरिरहेको काम प्रशंसनीय रहेको चर्चा गर्दै विकास समितिले सेनाका कामलाई साथ र सहयोग गर्न तीन पटकसम्म त्यसको स्थलगत अध्ययन गरेको जानकारी दिनुभयो।

काठमाडौँ–गल्छी–बेत्रावती ७५, बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी ५४ र स्याफ्रुबेँसी–रसुवागढी १६ गरी यो सडक कुल १४५ किलोमिटरको छ । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठीन घुम्ति पार गर्नुपर्छ। राम्चे र मूलखर्कमा सुख्खा र वर्षात् दुवै समयमा आउने पहिरोले यातायात आगावमनमा कठिनाइ हुने गरेका छन्। सो सडक बनेपछि बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसीसम्मको दूरी जम्मा ३१ किमी हुनेछ। नेपाली सेनाकाअनुसार निर्माणाधीन मैलुङ–स्याफ्रुबेँसी सडक बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी सडकभन्दा २३ किमी छोटो हुनेछ । यसैगरी काठमाडौँ–रसुवागढी सडकको दूरी कूल १२२ किमी हुन जानेछ।

जानकारी तथा लेखहरु