फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पले क्षतिग्रस्त गुम्बा तथा विहार पुनर्निर्माणको कार्यविधि तयार

(GMT+08:00) 2017-06-18 14:41:46

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा तथा बिहारहरुको संरक्षण, जीर्णाद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ। प्राधिकरणको कार्यकारी समिति बैठकले शुक्रबार सो कार्यविधि पारित गरेको नागरिकन्यूज डट कमले जनाएको छ।

कार्यविधि पारित भएपछि भूकम्पबाट क्षतिग्रस्त करिब ११ सय गुम्बा तथा बिहार पुनर्निर्माण गर्ने बाटो खुलेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए। कार्यविधिको अभावमा भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि गुम्बा तथा बिहार पुनर्निर्माण अगाडि बढ्न सकेको छैन। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको तथ्यांक अनुसार भूकम्पबाट देशभरका एक हजार तीन सय १८ गुम्बा क्षतिग्रस्त भएका छन्। जसमध्ये एक हजार एक सय ३१ गुम्बा अनुदान पाउने सूचीमा छन्।

समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले प्राधिकरणले कार्यविधि स्वीकृत गरेपछि गुम्बा/बिहार पुनर्निर्माणमा केही सहज हुने बताउनुभयो। प्राधिकरणले यो आर्थिक वर्षका लागि अख्तियारी दिएको ४१ करोड रुपैयाँमध्ये ३७ करोड रुपैयाँ निकासा भई सम्बन्धित जिल्लामा गइसकेको उहाँले बताउनुभयो। यो कार्यविधि भूकम्पबाट प्रभावित सय वर्ष नपुगेका सार्वजनिक गुम्बाहरुको संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माण कार्यका लागि मात्र लागू हुनेछ। सय वर्ष पुगेका सम्पदा पुनर्निर्माणका लागि प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार पुरातत्व विभागले पुनर्निर्माण गर्ने प्रावधान छ।

जानकारी तथा लेखहरु