फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पपीडितको १८ अर्ब बैंकमै थन्कियो

(GMT+08:00) 2017-06-19 17:06:30

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानको दोस्रो किस्ताका लागि भूकम्पप्रभावित १४ जिल्लामा पठाएको १७ अर्ब ९६ करोड ५२ लाख बैंकमै थन्किएको छ। पहिलो किस्ता लिएका पीडितले घर नबनाउँदा दोस्रो किस्ताको रकम वितरण हुन नसकेको नयाँपत्रिकाले लेखेको छ।

प्राधिकरणका अनुसार पाँच लाख ६७ हजार ४४२ पीडितले पहिलो किस्ता लगेका छन्। तर, दोस्रो किस्ताको रकम लैजानेको संख्या २५ हजार २ सय २८ मात्रै छ। पहिलो किस्ता लैजानेको तुलनामा ४.४४ प्रतिशत भूकम्पपीडितले मात्रै दोस्रो किस्ताबापतको रकम लगेका छन्। जसका कारण दोस्रो किस्ताका लागि निकासा गरिएको रकम अहिले जिल्लाका बैंकमा थन्किन पुगेको छ।

प्राधिकरणले भूकम्पपीडितको अनुदानका लागि अहिलेसम्म ५० अर्ब २७ करोड ११ लाख रुपैयाँ निकासा गरेको छ। त्यसमध्ये पहिलो, दोस्रो र तेस्रो किस्तामा ३२ अर्ब ३० करोड ५९ लाख रुपैयाँ मात्रै बाँडिएको छ।

पुनर्निर्माण प्राधिकरणका अनुसार पहिलो किस्ता लिएर गएका भूकम्पपीडितले घर नै नबनाउँदा दोस्रो किस्ताको रकम वितरण गर्न नसकिएको हो। झन्झटिलो कार्यविधि, अपर्याप्त रकम र कालीगढ कमी भएपछि पीडितले घर बनाउन चासो नदेखाएको प्राधिकरणले जनाएको छ। 'पहिलो किस्ताबापतको अनुदान रकम पाउन जति सजिलो छ, दोस्रो किस्ता पाउन गाह्रो छ। यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्छ,' पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भने, 'घर बनाएका भूकम्पपीडितले मापदण्ड पूरा गर्न सकेनन्।'

कालीगढको कमी तथा पैसा कम भएकाले घर बन्न नसकेको पनि उनले बताए। गाउँका सबै पीडितसँग घर बनाउने पर्याप्त रकम छैन।

जानकारी तथा लेखहरु