फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अब उपत्यका बाहिर पनि स्मार्ट लाइसेन्स

(GMT+08:00) 2017-06-19 17:08:34

नेपाल सरकारले यसै सातादेखि उपत्यकाबाहिर पनि स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरु गर्ने भएको छ। यातायात व्यवस्था विभागले उपत्यकाबाहिर पहिलोपटक पोखरामा यसै साताबाट स्मार्ट लाइसेन्सका लागि आवेदन लिन सुरु गर्ने जनाएको छ।

यसै महिनाभित्र अन्य १२ वटै अञ्चल यातायात ब्यवस्था कार्यालयमा स्मार्ट लाइसेन्स वितरणको लागि तयारी सक्ने विभागका महानिर्देशक रुप नारायण भट्टराईले जानकारी दिएको अनलार्इनखबरले लेखेको छ।

विभागले गत मंसिर महिनादेखि काठमाडौंमा स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो। दोस्रो चरणमा अब अञ्चल यातायात कार्यालय पोखराबाट उपत्यका बाहिर पनि स्मार्ट लाइसेन्स वितरण सुरु गर्ने तयारी गरिरहेको महानिर्देशक भट्टराईले बताए। असारको अन्तिमसम्ममा सबै स्थानबाट स्मार्ट लाइसेन्स वितरण गर्ने योजना रहेको पनि बताए। विभागले सबै यातायात कार्यालयमा स्मार्ट लाइसेन्सका लागि कम्प्युटरसहित सबै हार्डवेयरहरु जडान गरिसकेको छ।

हाल उपत्यकाबाहिर पनि नयाँ लाइसेन्स लिने, वर्ग थप्ने, नवीककरण गर्ने र प्रतिलिपि बनाउनेले मात्रै स्मार्ट लाइसेन्स पाउनेछन्। विभागले अहिले एकैपटक ७ लाख ५० हजार स्मार्ट लाइसेन्स आपूर्ति गर्ने गरी ग्लोबल टेण्डर आहृवान गरेको छ। स्मार्ट लाइसेन्स अभावले उपत्यकाबाहिर पुरानै लाइसेन्स बाँडिरहनुपर्ने अवस्था अन्त्य गर्न यातायात ब्यवस्था विभागले एकैकपटक ७ लाख ५० हजार लाइसेन्स आपूर्तिका लागि टेण्डर आह्वान गरेको जनाएको छ।

अहिले विभागले एडीबीको सहयोगमा सीधै मद्रास प्रिन्टर्ससँग कार्ड ल्याएर वितरण गरिरहेको छ।

यातायात व्यवस्था विभागले बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयबाट झण्डै २ लाख लाइसेन्स वितरण गरिसकेको छ। ५ वर्षभित्र सबै सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने यातायात व्यवस्था विभागको लक्ष्य छ।

जानकारी तथा लेखहरु