फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका पुर्‍याइएका ४ मूर्ति नेपाल फर्काइयो

(GMT+08:00) 2017-06-19 17:11:21
विभिन्न समयमा नेपालबाट अमेरिका पुर्‍याइएका धातुका चार मूर्ति नेपाल फर्काइएका छन्। अमेरिकी नागरिक लिरोइ एलिन एअरइनरिकको व्यक्तिगत सङ्ग्रहमा रहँदै आएका ती मूर्ति उनकै इच्छापत्रबमोजिम उनका वकिल जोन म्यागले नेपाल सरकारलाई फिर्ता गरेका हुन्।

नेपाल फर्काइएका मूर्तिहरूमा १५औँ शताब्दीका मारविजयको बुद्ध, स्थानक अमोघपास लोकेश्वरको मूर्ति, १६औँ शताब्दीका स्थानक अमोघपास लोकेश्वर र १७औँ शताब्दीका मञ्जुश्रीका मूर्तिहरू रहेको पुरातत्व विभागले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको गोरखापत्रअनलार्इनले लेखेको छ। ती मूर्तिहरू ढलौट, काँस र तामाको मिश्रणबाट बनेका र सुनका जलप लगाइएका छन्।

ती मूर्ति कहाँ थिए र कसरी अमेरिका पुगे भन्ने विषयमा भने हाल कुनै जानकारी नभएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए। ती मूर्ति कहिले कहाँबाट हराएका हुन् र हराएको विषयमा कुनै निवदेन परे नपरेको सम्बन्धमा अनुसन्धान अगाडि बढाइने पनि उनले बताए।

त्यस्तै मूर्ति सङ्ग्रह गरेर राख्ने व्यक्तिका बारेमा पनि थप जानकारी विभागसँग छैन। ती मूर्तिका सम्बन्धमा जोन म्याग २२५, वेस्ट ८६औँ स्ट्रिट काउन्सिलर एट ल न्युयोर्कबाट विभागमा गत मे ३० मा पत्र प्राप्त भएपछि फिर्ता ल्याउने प्रयास थालिएको थियो। कार्गो कम्पनी डीएचएल इनभ्वाइसले ती वस्तुको मूल्य १० हजार अमेरिकी डलर राखेकोमा अर्थ मन्त्रालयले उक्त मूल्य छुट गराएर मूर्ति फिर्ता ल्याइएको महानिर्देशक दाहालले बताए।

जानकारी तथा लेखहरु