फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विद्यालयस्तरदेखि नै योगाभ्यास जरुरी : प्रधानमन्त्री देउवा

(GMT+08:00) 2017-06-21 16:02:32

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिनुभएको छ। विश्व योग दिवसका अवसरमा आज आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने भएकाले यसलाई विद्यालय तहदेखि अभ्यास गराउनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, "योग यस्तो प्राचीन विधि हो, जसले मानिसलाई कुलतबाट मुक्ति दिन्छ, आनन्द दिन्छ। बालबालिकाले सुरु गरे भने उनीहरुको शिक्षालाई पनि सहयोग पुग्छ।"

कार्यक्रममा प्रधानमन्त्री देउवाले आचार्य बालकृष्णले लेख्नुभएको 'दैनन्दिन योगाभ्यास' र नेपालका लागि भारतीय दूतावासले प्रकाशन गरेको 'योग सन्देश' पुस्तकको विमोचन पनि गर्नुभएको थियो। कार्यक्रममा सहभागीले शान्ति, आनन्द र स्वास्थ्यका लागि नियमित योग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा पतञ्जलि योग समिति, नेपालका प्रमुख योगगुरु लवदेव मिश्रले योग अभ्यास गराउनुभएको थियो। छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले मान्यता दिएपछि हरेक बर्ष जुन २१ लाई विश्वभर विश्व योग दिवस मनाउन थालिएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

जानकारी तथा लेखहरु