फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–चीन परामर्श संयन्त्रको बैठक सम्पन्न

(GMT+08:00) 2017-06-21 16:04:49

चीनले नेपालसँग रेलमार्ग लगायत कनेक्टिभिटिका योजना औपचारिक रुपमा ल्याउन माग गरेको छ। मंगलबार काठमाडौँमा सम्पन्न संयुक्त परामर्श संयन्त्रको एघारौँ बैठकमा चिनियाँ पक्षले औपचारिक रुपमा ठोस प्रस्ताव ल्याउन आग्रह गर्दै त्यसले दुई देशबीचको कनेक्टिभिटिलाई व्यापक बनाउने बताएको हो।

चार वर्षपछि काठमाडौँको सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बसेको द्विपक्षीय कुटनीतिक बैठक साढे दुई घण्टा चलेको थियो। चिनियाँ पक्षको नेतृत्व सहायक परराष्ट्र सचिव खोङ स्वेन यु र नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गरेको बैठकमा नेपाल र चीनबीच भएका एक पेटी एक मार्ग परियोजना तथा ब्यापार पाबहन सम्बन्धी सम्झौता लागू गर्दै जाने सहमति भएको छ।

नेपाल–चीन सम्बन्धका सबै विषयको समीक्षा र भावी दिनको कार्यदिशा तय गर्न सन् १९९६ मा दुवै मुलुकका परराष्ट्र सचिवस्तरमा उक्त संयन्त्र गठन भएको थियो।

राससका अनुसार भूकम्पका कारण अवरुद्ध भएको तातोपानी नाका शीघ्र सञ्चालन गर्न नेपाल र चीनले सहकार्य गर्ने भएका छन्। दुवै मुलुकबीच विगतमा सम्पन्न सम्झौता तथा सहमति कार्यान्वयन अगाडि बढाउन सहमति जुटेको बैठकपछि परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

बैठकमा नेपाल–चीन सम्बन्धका राजनीतिक, आर्थिक, जनस्तरको सम्बन्धलगायत समग्र पक्षमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयकाअनुसार बैठकमा विशेषगरी दुई मुलुक बीचको राजनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने, उच्चस्तरीय भ्रमण र भेटघाटलाई थप विस्तार गर्ने, आर्थिक सम्बन्धलाई अझ बढी सुदृढ बनाउने, व्यापार, पर्यटन प्रवद्र्धन, लगानी, पूर्वाधार विकास, जनस्तरको सम्बन्ध विस्तारलगायत आपसी हितका अन्य क्षेत्रमा सहयोग आदान–प्रदान गर्ने विषयमा छलफल भएको छ।

त्यसैगरी, बैठकमा दुवै मुलुकबीच विगतमा सम्पन्न सम्झौता तथा सहमतिको कार्यान्वयन गर्ने तथा छलफलमा रहेका आर्थिक सहयोगसम्बन्धी सम्झौता र समझदारीलाई आपसी सहमतिमा यथाशीघ्र टुङ्गोमा पुर्याउने सम्बन्धमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल र चीनबीच हालै सम्पन्न 'वेल्ट एन्ड रोड इनिसिएटिभ' अन्तर्गत सहयोगसम्बन्धी सम्झौता तथा दुई देशबीच भएका ब्यापार र पारबहन सम्झौताले समेटेका विषयलाई कार्यान्वयन गर्ने सहमती बैठकमा भएको छ।

परराष्ट्र मन्त्रालका अनुसार दुवै मुलुकबीच स्थापित द्विपक्षीय विषयगत परामर्श संयन्त्रको नियमित बैठक आयोजना गर्ने सहमती भएको छ।

चिनियाँ सहयोगमा सञ्चालित परियोजना र कार्यक्रमको तदारुकताका साथ कार्यान्वयन गर्न तथा भावी दिनमा आर्थिक सहयोग र सहकार्यलाई गति दिन अन्तर निकाय समन्वय बढाउन दुवै मुलुकका परराष्ट्र मन्त्रालयले मिलेर काम गर्ने सम्बन्धमासमेत छलफल भएको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताए।

दुवै मुलुकबाट हुने उच्चस्तरीय भ्रमण आदान प्रदानका लागि नेपाल र चीनको परराष्ट्र मन्त्रालयबीच नियमितरुपमा सम्पर्कमा रही सहकार्य गर्ने तथा सन् २०१७ लाई चीनमा नेपाल पर्यटन प्रवद्र्धन वर्ष घोषणा भएको सन्दर्भमा नेपालको पर्यटन प्रवद्र्धनका लागि दुवै देशका सरोकारवाला निकायहरु मिलेर प्रवद्र्धनात्मक कार्यक्रम चीनमा सञ्चालन गर्ने र यसका लागि दुवै राष्ट्रका परराष्ट्र मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गर्ने सहमति भएको उनले जनाए।

जानकारी तथा लेखहरु