फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री देउवा र चिनियाँ सहायक परराष्ट्र सचिव यु बीच भेट

(GMT+08:00) 2017-06-22 15:54:18

नेपाल भ्रमणमा रहेका चिनियाँ सहायक परराष्ट्र सचिव खोङ स्वेन युले चीन र नेपालबीच हस्ताक्षर भएका सम्झौता कार्यान्वयनमा चुनौती रहेको बताउनुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग बुधबार गरेको भिन्नाभिन्नै भेटमा स्वेन युले चुनौतीका बीच दुई देशबीच भएका सहमति र सम्झौता कार्यान्वयनमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग चिनियाँ प्रतिनिधिमण्डलले बुधबार अपराह्न बेग्लाबेग्लै शिष्टाचार भेट गरेको थियो।

पूर्ववर्ती पुष्पकमल दाहाल सरकारका पालामा दुई देशबीच हस्ताक्षरित बेल्ट एन्ड रोड अवधारणामा नेपालको सहभागितासम्बन्धी समझदारीपत्रको कार्यान्वयनमा वर्तमान सरकार कसरी अघि बढ्छ भन्ने चासो व्यक्त भइरहेका बेला चिनियाँ अधिकारीको यस्तो प्रतिक्रिया आएको हो। त्यस्तै केपी ओली नेतृत्वको सरकारका बेला हस्ताक्षरित पारवहन सम्झौता कार्यान्वयनमा आउन नसकेकोप्रति चिनियाँ असन्तुष्टि झल्किएको हो। पारवहन सम्झौताअन्तर्गतको प्रोटोकलका विषयमा एकपटक दुई मुलुकबीच गत वर्ष छलफल भए पनि त्यसयता प्रोटोकल टुंग्याउनेबारे ठोस प्रगति हुन सकेको छैन।

भेटहरूमा सहभागी अधिकारीका अनुसार प्रधानमन्त्री देउवा र मन्त्री महराले विगतमा भएका सबै सहमति र सम्झौता तथा बेल्ट एन्ड रोड अवधारणामा नेपालको सहभागिताप्रति सरकारको प्रतिबद्धता जनाउनुभएको थियो। परराष्ट्रमन्त्री महरासँग नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले भेट गरी दुई देशबीचको आपसी सम्बन्ध तथा चासोका विषयमा छलफल गरेको मन्त्री महराको निजी सचिवालयले जनाएको छ।

प्रतिनिधिमण्डलका प्रमुख तथा सहायक परराष्ट्र सचिव खोङ स्वेन युले नेपालले बेल्ट एन्ड रोड अवधारणामा हस्ताक्षर गरेसँगै नेपाल-चीनबीचको सम्बन्ध नयाँ 'फ्रेम'मा अगाडि बढेको भन्दै आपसी समझदारी, विश्वास र सद्भावका आधारमा सम्बन्ध अगाडि बढेको बताउनुभयो।

साथै, चिनियाँ टोलीले भूकम्पबाट क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रमा जारी पुनःनिर्माणबारे जानकारी लिनाका साथै चिनियाँ सहयोगमा निर्मित निजामती अस्पतालको स्थलगत निरीक्षण गरेको थियो।

नेपाल-चीन संयुक्त परामर्श संयन्त्रको एघारौं बैठकमा भाग लिन चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको थियो। चिनियाँ प्रतिनिधिमण्डल बिहीबार स्वदेश फर्किएको जनाइएको छ।

जानकारी तथा लेखहरु