फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरला नाका खुलेपछि सिमानामा चहलपहल

(GMT+08:00) 2017-06-22 15:58:51

नेपाल–चीन सिमानाको कोरला नाका किनमेललाई १० दिन खुला गरेपछि चहलपहल बढेको छ। यही असार १ देखि नाका खुलेपछि किनमेल गर्नेहरू बढेको तथा गत वर्षको तुलनमा यसपालि राजस्व संकलन पनि बढेको भन्सारका कर्मचारीले बताएको र्इकान्तिपुरले लेखेको छ। अघिपछि सुनसान हुने सीमा क्षेत्रमा दुवै देशका व्यापारी र सर्वसाधारण आउजाउले हाल रौनक बढेको छ।

यसपटक भन्सार कार्यालयले ५ लाख रुपैयाँ राजस्व संकलन हुने लक्ष्य राखेको छ। गत वर्ष ३ लाख २७ हजार रुपैयाँ राजस्व उठेको थियो। यस सातामा ३ लाख ७५ हजार रुपैयाँ राजस्व उठिसकेको भन्सार प्रमुख शुक्रदर्शन ढुंगानाले बताए।

हाल फर्निचरजन्य सामग्री, कम्मल, भोटे चिया, फलामे चुलो र चाइनिज चाउचाउ अत्यधिक आयात भएको उनले जानकारी दिए। अन्य घरायसी सामान, खाद्यान्न, लत्ताकपडा र कृषिजन्य सामान पनि आयात भएको छ। गत वर्षझैं यसपालि पनि निर्यात शून्य रहेको भन्सार कार्यालयले जनाएको छ।

नाका खुलेको थाहा पाएपछि मुस्ताङ घुम्न आउने पर्यटक कोरला पुग्न थालेका छन्। मोटरसाइकलमा कोरला घुम्न आउनेहरू बढेको स्थानीयको भनाइ छ। नेपालतर्फ सुरक्षा अवस्था मजबुत भएमा कोरला नाकाबाट दीर्घकालीन रूपमै आयात निर्यात गर्न सकिने व्यापारीहरू बताउँछन्।

जानकारी तथा लेखहरु