फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२० वर्ष पुराना सवारीसाधन चलाउन नदिइने

(GMT+08:00) 2017-06-22 16:01:31

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २० वर्ष पुराना सबै किसिमका सवारीसाधनमाथि रोक लगाउन प्रस्ताव गरेको छ। मन्त्रालयले प्रदूषण र ट्राफिक जाम बढेको भन्दै २० वर्ष पुराना सबै किसिमका सवारीसाधनको सञ्चालनमा रोक लगाउन प्रस्ताव गरेको हो।

मन्त्रालयका सचिव धनबहादुर तामाङले प्रदूषण नियन्त्रण, सवारी दुर्घटना र ट्राफिक जाम न्युनिकरण तथा सडकको सुन्दरता वृद्धिका लागि निजी र सरकारी सवारीसाधनको पनि आयु तोक्न लागेको बताएको कारोबार दैनिकले लेखेको छ।

सरकारले काठमाडौं उपत्यकाभित्र गत फागुन १८ गतेदेखि भाडाका २० वर्ष पुराना सवारी साधनको सञ्चालनमा रोक लगाएको थियो। सचिव तामाङले सम्भव भए सिंगापुरमा जस्तो १० वर्ष पुराना सवारीसाधनको संचालनमा रोक लगाइनुपर्ने बताए। उनले २० वर्ष अवधि पुगेका सवारीसाधनको संचालनमा रोक लगाउन आयु अनुसार करको दर बढाइनुपर्ने बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २० वर्ष पुराना सवारीसाधनको संचालनमा रोक लगाउने र आयु अनुसार करको दर बढाउने नीतिगत व्यवस्था गर्ने भएको छ।

सचिव तामाङले बुधबार व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्तर्गतको उपसमितिको बैठकमा यस सम्बन्धमा राष्ट्रिय यातायात नीतिको मस्यौदा तयार पारी सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको जानकारी दिए। उनले अर्थ मन्त्रालयले स्वीकृति दिनासाथ मस्यौदा मन्त्रीपरिषद्मा पेश गरिने बताए।

बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाले काठमाडौं उपत्यकामा ट्राफिक जाम अन्त्यका लागि १० वर्ष पुराना सवारीसाधनको संचालनमा रोक लगाइनुपर्ने बताए।

उनले ट्राफिक जाम अन्त्यका लागि निजी सवारीसाधन किन्ने होडबाजी रोक्नु पर्ने भन्दै त्यसका लागि सार्वजनिक यातायातमा सुधार गरिनुपर्नेमा जोड दिए। काठमाडौं उपत्यकामा अहिले ७ लाख मोटरसाइकल र तीन लाख साना ठूला चारपाङ्ग्रे गाडी गुड्ने गरेका छन्।

जानकारी तथा लेखहरु