फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चक्रपथ बनाउन चिनियाँ कम्पनी इच्छुक

(GMT+08:00) 2017-06-23 16:00:51

 चिनियाँ कम्पनी चाइना ह्युम्यानिटिज डिप्लोमेटिक प्रमोसन एसोसिएसन र चाइना न्युक्लियर इन्जिनियरिङ एन्ड कन्ट्रक्सन ग्रुप कर्पोरेसनको संयुक्त लगानीको कम्पनीले काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ निर्माण गर्ने रुचि देखाएको छ। उक्त एसोसिएसनले सहरी विकास मन्त्रालय र उपत्यका विकास प्राधिकरणमा बाहिरी चक्रपथ निर्माण योजनाको आशयपत्र पेस गरेको छ।

आशयपत्रमा कम्पनीले ७० प्रतिशत अनुदान र ३० प्रतिशत ऋणमा बाहिरी चक्रपथ निर्माण गर्ने उल्लेख गरिएको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिएको अन्नपूर्णपोस्टले लेखेको छ। उहाँका अनुसार चिनियाँ टोलीले भेटेरै आशयपत्र दिएको छ। चिनियाँ सरकारकै रुचिअनुसार यो आयोजना निर्माण गर्न आशयपत्र पेस भएको छ। सिधै चिनियाँ कम्पनीलाई प्राधिकरणले निर्माणको जिम्मा दिन नमिल्ने भएकाले सहरी विकास मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको तिवारीले जानकारी दिनुभयो।

यो आयोजनाको निर्माण गर्न दिने विषयमा नेपाल र चीन सरकारबीच सम्झौता हुनुपर्ने र सरकारी निर्णयले सोही कम्पनीलाई दिन सक्ने जानकारी पनि तिवारीले दिनुभयो । यो आयोजना चीनले बनायो भने समयमा नै बन्ने, गुणस्तरीय हुने र सरकारी रकम पनि खर्च नहुने भएकोले उपयुक्त प्रस्ताव आएको प्राधिकरणको भनाइ छ।

यो आयोजनाको पहिलो खण्डका लागि जग्गा अधिकरण गर्ने तयारी अन्तिम चरणमा छ । यस विषयमा दुईतीन दिनभित्रमै सूचना प्रकाशन गर्न लागिएको आयोजनाका शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिनुभयो। चिनियाँ कम्पनीको प्रस्ताव आउनु र हामीले पनि निर्माणमा जाने अन्तिम तयारी गर्नु संयोग नै भएको छ।

जग्गा अधिग्रहणको माध्यमबाट निर्माण गर्न लागिएको सहरी विकासकै उत्कृष्ट नमुनाको यो आयोजनाको पहिलो खण्ड अगाडि बढ्ने अन्तिम तयारीमा छ। चीनले यो सडकको सम्पूर्ण खण्ड ७२ किलोमिटर नै बनाउने रुचि देखाएको छ। पहिलो खण्डको भने प्राधिकरणको बाहिरी चक्रपथ विकास आयोजनाले चोभारदेखि सतुंगलसम्मको ६ किमि सडकका लागि जग्गा अधिग्रहण गर्न लागेको छ। यो परियोजनाका लागि १३ हजार सात सय ६४ कित्तामा आगामी दुई वर्षसम्म कुनै संरचना बनाउन नपाइने र कित्ताकाट पनि नहुने गरी जग्गा रोक्का हुँदैछ। यो आयोजना दुई वर्षमा नै पूरा गरेर व्यवस्थित बस्तिसहित जग्गा फिर्ता हुने आयोजनाले जानकारी दिएको छ।

साथै बाहिरी चक्रपथको पहिलो खण्ड निर्माणका लागि करिब दुई सयवटा घर भत्कने भएका छन्। आयोजनका अधिकृत सापकोटाका अनुसार आगामी दसैंसम्मा बाहिरी चक्रपथ निर्माणका लागि औपचारिक रुपमै डोजर चलाउने गरी तयारी भइरहेको छ। अधिकृत सापकोटाका अनुसार १५/२० लाखदेखि डेढ करोडसम्मका घर भत्कने भएका छन्। यी घरका लागि सरकारले उचित क्षतिपूर्ति दिएर मुख्य बाटोमा परेको घर भत्काउने भएको छ।

पहिलो खण्डको लागि तय भएको ६ दशमल ६ किमिको यो आयोजनामा चोभार, भत्केपाटी, मच्छेगाँउ, सतुगङ, गुर्जुधारा र धवलागिरि आवास आसपासका विभिन्न ६ स्थान पर्छन्। यो क्षेत्रमा निर्माण हुने सडकका लागि सरकारले दुई वर्षभित्र कम्तीमा ६ अर्ब २० करोड रुपैयाँ खर्च गर्दैछ।

जानकारी तथा लेखहरु