फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङमा नेपाली हस्तकला व्यापार मेला

(GMT+08:00) 2017-06-23 16:08:24

नेपाल हस्तकला महासङ्घ, हङकङस्थित नेपाली महावाणिज्य दूतावास र हङकङ नेपालिज बिजनेश एशोसिएशनको आयोजनामा यही असार १० र ११ गते (जुन २४ र २५) हङकङमा नेपाल एकदेशीय व्यापार मेला–२०१७ को आयोजना हुने भएको छ।

हङकङमा नेपाली हस्तकलाको सम्भाव्यतालाई दृष्टिगत गरी नेपाली हस्तकलाको बजार प्रवर्द्धनको लागि पहिलोपटक व्यापार मेला आयोजना गर्न लागिएको नेपाल हस्तकला महासङ्घले जानकारी दिएको छ।

महासङ्घका अध्यक्ष धर्मराज शाक्यले मेलामा हस्तकला महासङ्घबाट १५ स्टल र हङकङबाट ३ गरी जम्मा १८ स्टल रहने जानकारी दिएको अभियान दैनिकले लेखेको छ। मेलामा पश्मिना, चाँदीका गरगहना, धातुका मूर्ति, थाङ्का र अन्य हस्तकलाका वस्तु रहने उनले बताए। शाक्यले हङकङ विश्व बजारको केन्द्र रहेको र त्यहाँ आयोजना गर्न लागिएको यस मेलाले नेपाली हस्तकलाको बजारलाई अन्तरराष्ट्रिय स्तरमा लैजान थप सहयोग पुग्ने तथा नेपाली पर्यटन प्रर्वद्धनमा समेत यसले सघाउ पुर्याउने विश्वास व्यक्त गरे।

शाक्यले १० वर्ष अघिसम्म हङकङ नेपाली हस्तकलाको राम्रो बजार भए पनि भिसालगायतको समस्याले पछिल्लो समय हस्तकलाको व्यापार खस्किएको अवस्थामा मेलाले बजार विस्तारमा सघाउ पुर्‍याउने अपेक्षा लिएको बताए। व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका नायब कार्यकारी निर्देशक विमलकुमार नेपालले हङकङमा आयोजना गरिने व्यापार मेलाले हस्तकलाको व्यापार प्रबर्द्धनमा सघाउ पुग्ने बताउँदै यस प्रकारका मेलामा केन्द्रको तर्फबाट सहयोग रहने बताए। हङकङ नेपाल व्यापार सङ्घका सचिव भेषनारायण श्रेष्ठले नेपाली हस्तकला तथा नेपालको पर्यटन प्रवर्द्धनमा मेलाले सघाउ पुर्‍याउने बताए।

यस्तै मेलामा नेपालको कला, संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुति तथा नेपाली हस्तनिर्मित पश्मिना, ढाकालगायत अन्य कपडाबाट निर्मित हस्तकला सामानको बजार विकासका लागि हङकङमा समर फेशन शो पनि आयोजना गरिने पूर्वमिस नेपाल सुगारिका केसीले जानकारी दिइन्। यस्तै, मेलापछि म्यागाशेसे पुरस्कार विजेता महावीर पुनको नेपाली आविष्कार केन्द्रको सहयोगार्थ च्यारिटी डिनर आयोजना गरिने केसीले बताइन्। मेलामा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, नेपाल वायुसेवा निगम ट्रेड डेभलपमेण्ट काउन्सिल सहयोगी संस्थाका रूपमा रहको महासङ्घकी उपाध्यक्ष रत्नेश्वरी श्रेष्ठले जानकारी दिइन्।

जानकारी तथा लेखहरु