फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालू वर्ष नेपालको मूल्य वृद्धिदर ५ प्रतिशतभित्रै रहने

(GMT+08:00) 2017-06-26 16:17:16

         मुलुकको बजार भाउ नियाल्ने नेपाल राष्ट्र बैंकको आन्तरिक अध्ययनले चालु आर्थिक वर्षमा मूल्य वृद्धिदर ५ प्रतिशतभित्रै रहने देखिएको छ। विगत १० महिनामा मूल्य वृद्धिदरको स्थितिका आधारमा बाँकी दुई महिनाको समेत प्रक्षेपण गरेर केन्द्रीय बैंकले यो अवस्था देखाएको हो । चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाख) सम्मको औसत वार्षिक विन्दुगत मूल्य वृद्धिदर ४.८ प्रतिशत छ।

         इकान्तिपुर अनलाइनका अनुसार यो चालु आर्थिक वर्षको वार्षिक लक्ष्यभन्दा २.७ प्रतिशत विन्दुले कम हो। चालु आर्थिक वर्षमा मूल्य वृद्धिदर ७.५ प्रतिशतभित्रै राख्ने लक्ष्य लिइएको थियो । १० महिनासम्मको तथ्यांक हेर्दा उक्त लक्ष्य सजिलै पूरा हुने देखिन्छ । यसअघि राष्ट्र बैंकले तय गरेका मूल्य वृद्धिदरका धेरै लक्ष्यहरू पूरा भएका छैनन् । यसकारण विरलै मात्र प्राप्त हुने मूल्य वृद्धिको वार्षिक लक्ष्य यो वर्ष पूरा हुने भएको हो।

          गत असोजसम्म केही उच्च रहेको मासिक मूल्य वृद्धिदर त्यसपछि घट्न थालेको थियो। गत फागुनमा यस्तो वृद्धिदर २.९ प्रतिशतमा झर्यो । त्यसपछिका महिनामा यस्तो दर थोरै बढे पनि अपेक्षाभन्दा कम नै छ । यसकारण बाँकी दुई महिनामा ७/७ प्रतिशतले मूल्य वृद्धि भएको अवस्थामा पनि वार्षिक मूल्य वृद्धिदर औसतमा ५.२ प्रतिशत रहनेछ । 'जेठ र असारमा मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कमै हुने देखिन्छ,' राष्ट्र बैंक स्रोतले भन्यो । यसकारण चालु आर्थिक वर्ष वार्षिक मूल्य वृद्धिदर औसतमा ५ प्रतिशतभित्रै रहने आकलन गरिएको हो ।

जानकारी तथा लेखहरु