फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मनसुन सुरू भएसँगै नेपालमा धान रोपाइँको क्रम सुरू

(GMT+08:00) 2017-06-26 16:18:55

        असार महिनाको सुरुआतसँगै देशभर धान रोप्ने क्रम सुरु भएको छ। यो वर्ष निर्धारित समयभन्दा दुई दिन ढिलो गरी भित्रिएको मनसुनको सक्रियतासँगै धान रोपाइँ सुरु भएको हो। मनसुन सक्रिय भए पनि यो वर्ष रोपाइँकै समयमा स्थानीय तहको निर्वाचन हुन लागेकाले रोपाइँ केही प्रभावित हुनसक्ने देखिएको छ। असार १४ गते प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय निर्वाचन हुँदैछ।

         सामान्यतया जुन १० मा भित्रिने मनसुन यो वर्ष १२ जुनमा नेपाल प्रवेश गरेको हो। मनसुनी वादलको सक्रियताका कारण देशभर फाट्टफुट्ट रूपमा भए पनि अकाशे पानीपर्ने क्रम सुरु भएको छ। अकाशे पानीपर्न थालेपछि उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंसहित मुलुकभर ब्याडमा राखिएको बिउ प्रयोग गरी किसानले खेतमा रोपाइँ गर्न थालेका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसम विज्ञ सुवास रिमालले भन्नुभयो, 'धान रोपाइँको मौसम सुरु हुनै लाग्दा भित्रिएको मनसुन पनि सक्रिय भएको छ । धान रोपाइँको समयमा यो वर्ष राम्रै परिमाणमा अकाशे पानीपर्ने लक्ष्य देखिएको छ।'

          कृषि विकास मन्त्रालयले यो वर्ष असारको सुरुआतसँगै मौसममा देखिएको साकारात्मक लक्ष्णका कारण धानवालीको रोपाइँ गत वर्षभन्दा बढी हुने जानकारी गराएको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले यो वर्ष १५ पनि अघिल्लो आर्थिक वर्षजस्तै १५ लाख ५२ हजार चार सय ६९ हेक्टरमा धानबालीको रोपाइँ गर्ने तयारी भएको जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्षमा पनि १५ लाख ५२ हजार हेक्टरमा धान रोपाइँ सम्पन्न भएको थियो। मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष ५४ लाख मेट्रिक टन धान फलाउने लक्ष्य राखिएको अन्नपूर्ण पोस्ट अनलाइनले जनाएको छ।

             चालू आर्थिक वर्ष २०७३/७४ मा भने हालसम्मका सबै 'रेकर्ड' तोड्दै ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो। कृषि मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०६८/६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै गत आर्थिक वर्ष २०७०/७१ मा ५० लाख ४७ हजार र २०७१/७२ मा ४७ लाख ८८ हजार मेट्रिक टन धान फलेको थियो । बजार मूल्यअनुसार करिब डेढ खर्ब मूल्य बराबरका धान उत्पादन भएको थियो । यही परिमाणमा धानको उत्पादन भइरहने हो भने नेपाल छिटै नै धानमा आत्मनिर्भर हुने मन्त्रालयले दाबी गरेको छ।

          व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०७३/७४ को १० महिनामा २० अर्ब २६ करोड ३६ लाख १५ हजार मूल्य बरारबको धान भारत, इटली, बहराइन, चीन, थाइल्यान्ड, कोरिया, जापान, मलेसिया, बंगलादेश अमेरिका, सिंगापुर र भियतनामबाट तीन लाख ५९ हजार नौं सय ९१ मेट्रिक टन विभिन्न प्रकारका चामल आयात भएको थियो । यही वर्षमा सबैभन्दा बढी धान पनि फलेको थियो।

          यसैबीच सरकारले योवर्ष दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार भन्ने नाराका साथ चौधौं राष्ट्रिय धान दिवस मनाउने तयारी गरेको छ । कृषि विकास मन्त्रालय र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले संयुक्त रूपमा असार १५ गते खुमलटारस्थित बाली विज्ञान महाशाखामा यो दिवस मनाउन लागेको हो। यसैगरी राष्ट्रिय कृषक समूह महासंघसँगै नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीको किसानसम्बन्धी भातृ संगठनले असार १५ मा रोपाइँ कार्यक्रमको आयोजना गरेको छ।

जानकारी तथा लेखहरु