फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मौसम र प्रतिकूल भूबनोटका बीच पनि सगरमाथामा पर्यटकको भीड

(GMT+08:00) 2017-06-28 16:46:28

        मौसम र भूबनोट प्रतिकूल हुँदाहुँदै पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेको प्रकृति प्रेमीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ। पर्यटन विभाग, पर्वतारोहण शाखाका अनुसार यो वर्षको वसन्त ऋतुमा स्वदेशी तथा विदेशी गरी ४४९ जनाले सगरमाथा आरोहण गरेका छन्। यो वर्ष कामी रिता शेर्पाले सगरमाथाको २१ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका छन्। यसअघि आप्पा शेर्पा र फुर्वा टासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरी कीर्तिमान बनाएका थिए। अघिल्लो वर्ष वसन्त ऋतुमा चार सय ५१ जनाले सगरमाथाको आरोहण गरेका गोरखापत्र अनलाइनले जनाएको छ।

        सगरमाथा आरोहणको इतिहासमा यस वर्ष अहिलेसम्मकै सबैभन्दा बढी आरोहीले आरोहणका लागि अनुमति लिएका छन्। आरोहणका लागि सगरमाथामा भीड लागे पनि मौसमले साथ नदिँदा केही आरोही खिन्न हुँदै फर्किए । यसपटक सगरमाथासहितका हिमाल आरोहणका लागि स्वदेशी तथा विदेशी गरी ८४० जनाले अनुमति लिएकामा ६३५ जनाले सफल आरोहण गरेका छन्।

        यो वर्ष अहिलेसम्मकै सबैभन्दा बढी ४२ वटा आरोहण दलले सगरमाथा आरोहण अनुमति लिएका छन् । यसअघि सन् २०१३ मा करिव पाँच सय र सन् २०१६ मा ४५१ जनाले सगरमाथा आरोहण गरेका थिए । नेपाल पर्वतारोहण सङ्घ एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले सगरमाथा आरोहणका लागि यो वर्ष धेरै आरोही आएको भएपनि मौसमले साथ नदिँदा थोरै आरोही सगरमाथाको चुचुरो नपुगी फर्कन बाध्य भएको बताउनुभयो।

         सन् २०१४ मा हुदहुद आँधी र सन् २०१५ मा भूकम्पका कारण सगरमाथा आरोहण रोकिएको थियो । सन् २०१६ र २०१७ मा सगरमाथा चढ्नेहरुका लागि निकै उत्साहपूर्ण रह्यो।

          सगरमाथा आरोहणका लागि विदेशीका लागि ११ हजार अमेरिकी डलर र नेपालीलाई ७५ हजार रुपैयाँ सलामी दस्तुर लाग्छ। नेपालमा हाल पाँच हजार ८०० मिटर अग्ला ४०३ वटा हिमाल आरोहणका लागि खुल्ला गरिएका छन् । भूगर्भविद् डा हर्क गुरुङको अध्ययन प्रतिवेदन अनुसार पाँच हजार ८०० मिटरभन्दा अग्ला १७ हजार हिमाल आरोहण योग्य छन् । एक हजार ३८९ हिमालको आरोहण खोल्न बाँकी छ।

          सगरमाथाको चुचुरोमा पुग्दा मौसम सफा छ भने नीलो आकाश र सेताम्य हिमालको प्राकृतिक सुन्दर नियाल्न सकिन्छ। मौसम बिग्रँदा त्यस्तो सौन्दर्यको मज्जा लिन सकिँदैन । त्यसैले ज्यान नै जोखिममा राखेर सगरमाथाको चुचुरोमा पुग्ने अभिलाषा आरोहीले बोकेको हुन्छ।

          तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक पाइला टेके । त्यसयता ६४ वर्षको अवधिमा करिब आठ हजार पर्वतारोही शिखरमा पुगिसकेका छन् । आरोहणकै क्रममा अहिलेसम्म करिब २८६ आरोहीले ज्यान गुमाएको तथ्याङ्क छ। यो वर्ष छ जना आरोहीले ज्यान गुमाए । अघिल्लो वर्ष पनि छ जनै आरोहीको निधन भएको थियो। विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये नेपालमा आठवटा छन्।

जानकारी तथा लेखहरु