फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज नेपालमा राष्ट्रिय धान रोपाइँ दिवस

(GMT+08:00) 2017-06-29 19:17:56

        नेपाल सरकारले आगामी आर्थिक वर्षमा ५४ लाख मेट्रिकटन धान फलाउने लक्ष्य राखेको छ। १४ औं राष्ट्रिय धान दिवसको अवसरमा सरकारले यस्तो जानकारी गराएको हो।

         कृषि बिकास मन्त्रालयका सह प्रवक्ता शंकर सापकोटाले आगामी आर्थिक बर्षमा ५४ लाख मेट्रिक टन धान फलाउने लक्ष्य सरकारले राखेको जानकारी दिनुभयो। उहाँका अनुसार आगामी तीन बर्षमा धानमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले विभिन्न प्रकारका बिशेष प्राथमिकताका सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।

         धानमा नेपाललाई आत्मनिर्भर बनाउन गत् आर्थिक बर्ष २०७१/७२ देखि २० जिल्लामा मसिना तथा बास्नादार धान उत्पादन प्रवद्र्धन कार्यक्रम ल्याइएको छ। यस्तै २०७२/७३ देखि तराईका विभिन्न १५ जिल्लामा बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालनमा ल्याइएको छ । यो कार्यक्रम अहिले ३५ जिल्लामा बिस्तार गरिएको छ । हाल यो कार्यक्रम आगामी आर्थिक बर्ष २०७४।७५ देखि स्थानीय तहलाई जिम्मा लगाइएको छ ।

        धानमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले चालु आर्थिक बर्ष २०७३/७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासमेत सञ्चालन गरेको छ। यो परियोजनाअन्तर्गत २४ ब्लक, ५ जोन र एक सुपरजोनमा धानवालीलाई समावेश गरिएको खबर अनलाइन खबरमा छ।

         यसैगरी चैते धानलाई प्रवर्द्धन गर्न करिब ५० जिल्लामा चैते धानको क्षेत्रफल विस्तार गरी अहिले एक लाख १८ हजार हेक्टरबाट विस्तार गरी तीन लाख हेक्टरमा पुरयाउने योजना अघि बढाइएको छ। मन्त्रालयकाअनुसार चालू आर्थिक वर्ष २०७३/७४ मा भने हालसम्मका सबै 'रेकर्ड' तोड्दै ईतिहासमै पहिलो पटक ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो।

          व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०७३/७४ को १० महिनामा २० अर्ब २६ करोड ३६ लाख १५ हजार मूल्य बरारबको धान भारत, इटली, बहराइन, चीन, थाइल्यान्ड, कोरिया, जापान, मलेसिया, बंगलादेश अमेरिका, सिंगापुर र भियतनामबाट तीन लाख ५९ हजार नौं सय ९१ मेट्रिक टन विभिन्न प्रकारका चामल आयात भएको थियो।

          हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धानको खेती हुँदै आएको छ । नेपालको कुल खेती हुने क्षेत्रफलमध्ये ५०.२ प्रतिशत जग्गामा धानको खेती हुन्छ। यसमध्ये तराईमा ६९.१ प्रतिशत, पहाडमा २६.८ प्रतिशतमा र उच्च पहाडमा ४.१ प्रतिशत हेक्टरमा धानको खेती हुन्छ। धान उत्पादन गर्नेमा चीन पहिलो स्थानमा आउँछ । त्यसपछि क्रमशः भारत, इन्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापानमा धानको उत्पादन हुन्छ।

जानकारी तथा लेखहरु