फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रसुवागढी नाका प्रवेशको भिसा प्रक्रियामा अझै नेपालको अलमल

(GMT+08:00) 2017-06-29 19:18:39

       रसुवागढी नाकाबाट चीन प्रवेशका लागि प्रक्रिया सुरु गरिएको मल्टी इन्ट्री भिसा अन्योलमा परेको छ। नेपाल र चीनबीच भिसा प्रक्रिया विवादका कारण ११ महिनादेखि काम रोकिएको छ।

        आवेदन दिएको एक वर्ष पुग्न लाग्दासमेत कसैले पनि भिसा प्राप्त गर्न नसकेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। त्यसको फाइल हाल परराष्ट्र मन्त्रालयमा थन्किएको छ। भिसाका लागि रसुवा प्रशासनले दुई सय ४१ थान आवेदन दर्ता गरी गत वर्षको भदौमा सिफारिससहित गृह मन्त्रालय पठाएको थियो।

        तर, प्रक्रिया हालसम्म नटुंगिएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो। ट्रक, कन्टेनर, उद्योगी व्यवसायीका गरी दुई सय ४१ थान आवेदन दर्ता गरी भिसाका लागि गृहमन्त्रालय पठाइएको थियो। गृह र परराष्ट्र मन्त्रालयको प्रक्रिया पूरा गरेर हाल फाइल परराष्ट्र मन्त्रालयमा थन्किएको प्रजिअ न्यौपानेले बताउनुभयो। परराष्ट्र मन्त्रालयमार्फत चीनको अध्यागमन पुगेपछि मात्र भिसा प्रक्रिया सुरु हुनेमा हाल नेपाल र चिनियाँ अधिकारीबीचको विवादका कारण प्रक्रिया रोकिएको छ।

         परराष्ट्र मन्त्रालयले कूटनीतिक रूपमा चीनसँग छलफल गरिरहेको जनाएको छ। भिसा आएपछि रसुवागढी नाकाबाट आवतजावतमा सहजता हुने स्थानीयले बताएका छन्। रसुवा प्रशासनले तीन सय जनाका लागि भिसा आवश्यक रहेको दाबी गरिरहेको छ। अन्नपूर्ण पोस्ट अनलाइनका अनुसार भिसा प्राप्त गरिसकेपछि रसुवागढी नाकाबाट व्यापारिक प्रयोजनाका लागि उद्योगी, व्यवसायी, कन्टेनर चालक केरुङसम्म आवतजावत गर्न पाउनेछन्।

जानकारी तथा लेखहरु