फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटक बढी

(GMT+08:00) 2017-06-30 16:15:54

      चर्को गर्मीको मौसममा पोखरा घुम्न आउने भारतीय पर्यटकहरू बढेका छन् । विशेष गरी पारिवारिक भ्रमणमा निस्किएका भारतीयहरू यहाँका पर्यटकीय स्थलमा रमाइरहेका छन् । निजी र अन्य भाडाका सवारीमा आएका उनीहरूको भीड यहाँको पातले छाँगो, गुप्तेश्वर, चमेरे र महेन्द्र गुफा, फेवाताल, विन्ध्यवासिनी मन्दिरलगायत स्थानमा देखिन्छ । सडकमा भारतीय नम्बर प्लेटका गाडी छयाप्छयाप्ती छन् ।

         फेवातालमा डुंगा र सराङकोटको आकाशमा प्याराग्लाइडिङ पनि गरिरहेका छन्। स्थानीय निर्वाचन पहिले भारतीयहरूको निकै चहलपहल थियो। निर्वाचनताका केही कमी भए पनि हाल फेरि उल्लेख्य संख्यामा आएका पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताउनुभयो।

         ईकान्तिपुर अनलाइनका अनुसार पर्यटकीयस्तरका ४ सयभन्दा बढी होटलमा १६ हजारभन्दा बढी बेड रहेको पोखरामा हाल दैनिक ५० देखि ६० प्रतिशत अकुपेन्सी छ। यसमा आन्तरिक र भारतीयको ४०/४० र बाँकी २० प्रतिशत तेस्रो मुलुकका पर्यटकको रहेको छ।

        पोखरामा आउनेमा अधिकांश भारतीयहरू सीमावर्ती सहरका छन् । गर्मी छल्न र छुट्टी मनाउन उनीहरू यता आउने गर्छन् । कोही पोखरा आसपासका जिल्लामा पनि पुग्छन्। कतिपय जहाज तथा सवारी साधनमार्फत हिमालपारिको मुस्ताङस्थित मुक्तिनाथ र गोरखाको मनकामना मन्दिर पनि पुग्ने गरेका छन्। दैनिक १ सय भारतीय सवारी साधन भित्रिइरहेका पोखरा भिलेज रिसोर्टका सञ्चालक हरि शर्मा गैरेले बताउनुभयो।

         व्यवसायीहरूका अनुसार दक्षिणी भारतका गुजरात चेन्नई, मुम्बईलगायत सहरबाट पनि पोखरामा भारतीयहरू आउँछन्। कतिपय भारतीय पोखरामा ट्रेकिङ, प्याराग्लाइडिङ, बन्जीजम्प, र्‍याफटङ, जिपफ्लायर, अल्ट्रालाइटजस्ता साहसिक पर्यटकीय गतिविधिमा संलग्न हुनका लागि आउँछन् भने अर्काथरी धार्मिक पर्यटकका रूपमा। भारतीयहरू विशेष गरी मार्च, अप्रिल, मे, जुन, अक्टोबर र नोभेम्बर महिनामा बढी घुम्न आउँछन्।

          यसैबीच पश्चिमाञ्चल होटल संघले पोखरामा पर्यटक भित्र्याउने उद्देश्यसाथ भारतका केही सहरमा 'चलिए पोखरा अभियान' गर्ने भएको छ। आगामी शुक्रबारदेखि ५ दिने अभियानमा पटनालगायत बिहारका केही सहर, गोरखपुर र लखनऊमा अभियान गरिने आयोजक पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताउनुभयो। अभियानको यो छैटौं संस्करण हो।

जानकारी तथा लेखहरु